काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगका अनुसार केही दल वा उम्मेदवारले धातु, काठ वा अन्य सामग्रीबाट बनेका चुनाव चिह्न बोकेर प्रचार गर्दा जनसुरक्षामा जोखिम र सार्वजनिक शान्तिमा असर परेको भन्ने उजुरी आएको छ। त्यसैले अब कपडा, कागज, फ्लेक्स वा प्रिन्ट सामग्रीमा तोकिएको मापदण्डअनुसार मात्रै चुनाव चिह्न प्रयोग गर्न भनिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित निर्देशिकाअनुसार आयोगले निर्धारण गरेको चुनाव चिह्न मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ। साथै निर्वाचन आचारसंहिता–२०८२ को दफा १३ (ड) बमोजिम झण्डा र चुनाव चिह्नको मापदण्ड पालना गर्नुपर्ने आयोगले स्मरण गराएको छ।
आयोगले चेतावनी दिँदै भौतिक स्वरूपका चिह्न प्रयोग गरी प्रचार गरेमा आचारसंहिता उल्लंघन हुने जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले सरोकारवाला सबैलाई निर्देशन पालना गर्न आग्रह गरेका छन्।

