तेहरान । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। सरकारी घोषणाअनुसार उनको सम्मानमा देशभर ४० दिन राष्ट्रिय शोक मनाइनेछ भने सात दिन सार्वजनिक बिदा घोषणा गरिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर प्रारम्भमा इरानले उक्त दाबीको पुष्टि गरेको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजसँगको अन्तर्वार्तामा खामेनी सुरक्षित रहेको बताएका थिए।
तर पछि इरानको सरकारी टेलिभिजनका प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको निधन भएको घोषणा गरेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी र अल जजिराका अनुसार इरानका समाचार एजेन्सी फार्स न्युज एजेन्सी र तस्निम न्युज एजेन्सीले पनि शनिबार बिहान खामेनी आफ्नो कार्यालयमै जिम्मेवारी सम्हालिरहेकै बेला मारिएको जनाएका छन्।
को हुन् खामेनी?
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा कार्यरत थिए। उनी इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारी हुन्। खोमेनीले सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गर्दै तत्कालीन शासक मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेका थिए।
इरानको संवैधानिक संरचनाअनुसार सर्वोच्च नेतासँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहने व्यवस्था छ। उनले देशको सर्वोच्च धार्मिक तथा आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्दै आएका थिए। आफ्नो शासनकालमा खामेनीले पश्चिमी देशहरूसँगको तनाव, कडा आर्थिक प्रतिबन्ध तथा आन्तरिक विरोध प्रदर्शनको सामना गरेका थिए।
अमेरिका–इजरायलसँग बढ्दो तनाव
जुन २०२५ मा इरान र इजरायलबीच भएको १२ दिने युद्धपछि इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको ‘अस्तित्व रहिरहनु हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले उनलाई ‘आधुनिक हिटलर’को संज्ञा दिएका थिए।
फेब्रुअरी २८, २०२६ मा भएको आक्रमणका क्रममा इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका थिए। यसै सन्दर्भमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खामेनीमाथि गरिएको कारबाही प्रयासलाई स्पष्ट रूपमा अस्वीकार नगरेको बताइएको छ।
खामेनीको निधनसँगै इरानको राजनीतिक भविष्य, सत्ता हस्तान्तरण प्रक्रिया र मध्यपूर्वको क्षेत्रीय सुरक्षामा गम्भीर प्रभाव पर्ने विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले पनि घटनाक्रमलाई चासोपूर्वक हेरिरहेको छ।

