काठमाडौं । अस्ट्रेलियाले बाढी तथा अन्य विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ।
अस्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाली विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा भएको भेटवार्ताका क्रममा वङले उक्त सहयोग घोषणा गरेकी हुन्।
यसअघि अस्ट्रेलियाले नेपालमा आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। नयाँ घोषणा गरिएको १५ मिलियन डलर उक्त सहयोगमा थप हुनेछ। नयाँ सहयोग बाढी तथा विपद्पछिको राहत र प्रारम्भिक पुनर्लाभका कार्यमा केन्द्रित रहने जनाइएको छ।
भेटवार्तामा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। दुवै मन्त्रीले दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए।
अस्ट्रेलियाली विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख र सहानुभूति व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन्।
भेटवार्तामा जलवायु परिवर्तनका कारण नेपाल तथा प्रशान्त क्षेत्रका मुलुकले सामना गरिरहेको साझा जोखिमका विषयमा समेत छलफल भएको थियो। मन्त्री खनालले जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणालीमा पारिरहेको असमान तथा गम्भीर प्रभावलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा उठाउन अस्ट्रेलियाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
विशेषगरी आगामी कोप–३१ को सन्दर्भमा नेपालको जलवायु जोखिम तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई विश्वसामु उजागर गर्न अस्ट्रेलियाको सहयोग आवश्यक रहेको उनले बताएका थिए। साथै जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, विपद् तयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।
भेटवार्तामा शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो। नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम संस्थाहरू स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए।
मन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पुर्याउँदै आएको योगदानको उल्लेख गर्दै विद्यार्थी भिसासम्बन्धी पछिल्ला नीतिगत परिवर्तनका क्रममा वास्तविक तथा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरेका थिए।
त्यस्तै, नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषय पनि भेटवार्ताको प्राथमिकतामा परेको थियो। व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन तथा श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो।
नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत दुवै पक्षबीच कुराकानी भएको थियो। प्रत्यक्ष हवाई सम्पर्कले दुई देशबीच पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज र सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाली विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताउँदै प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
भेटवार्तामा दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने तथा छलफलबाट भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन्। साथै नेपाल–अस्ट्रेलिया सम्बन्धलाई दुई देशका जनताको पारस्परिक हितमा थप सुदृढ र बहुआयामिक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

