आगामी ५ नोभेम्बरदेखि मलेसियाले नेपालबाट कामदार लैजाँदा २५ प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पीआरए) र तिनसँग आबद्ध २५० एसोसिएट रिक्रुटमेन्ट एजेन्सी (एआरए) गरी २७५ म्यानपावर कम्पनीको संरचना प्रयोग गर्ने भएको हो।
मलेसिया सरकारका लागि विदेशी कामदार व्यवस्थापन प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा जारी गरेको मेमोमार्फत नयाँ व्यवस्थाको कार्यतालिका सार्वजनिक गरेको हो।
यसअघि नै मलेसियाले नेपालका २५ म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल’ र तिनको मातहत २५० कम्पनीलाई ‘एसोसिएट’का रूपमा राखेको थियो। अब यही संरचनाबाट मात्रै नेपालबाट नयाँ कामदार भर्ती गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
नेपालले आपत्ति जनाउँदै आएको व्यवस्था नै लागू हुँदै
मलेसियाले विदेशी कामदार व्यवस्थापन प्रणाली एफडब्लुसिएमएसमा नेपाली म्यानपावर कम्पनीलाई आबद्ध गराएर सीमित कम्पनीमार्फत मात्रै कामदार भर्ना गर्ने प्रक्रिया अघि बढाएपछि नेपालले आपत्ति जनाउँदै आएको थियो।
वैदेशिक रोजगार विभागले गत भदौमा एफडब्लुसिएमएसमा सूचीकृत २५० म्यानपावर कम्पनीसँग उनीहरूको छनोटको आधार, मापदण्ड र कानुनी आधारबारे स्पष्टीकरणसमेत मागेको थियो। विभागले सात दिनभित्र विभिन्न प्रश्नको जवाफ दिन निर्देशन दिएको थियो।
सीमित कम्पनीलाई मात्रै कामदार पठाउने अधिकार दिँदा एकाधिकार बढ्न सक्ने तथा प्रतिस्पर्धा कमजोर हुन सक्ने भन्दै नेपालले कूटनीतिक माध्यमबाट समेत आपत्ति जनाएको थियो। तर, मलेसियाले भने आफ्नो मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ व्यवस्था कार्यान्वयनमा लैजाने तयारी अघि बढाएको छ।
पुरानो प्रणालीमा मेडिकल दर्ताको समय सकिँदै
नयाँ व्यवस्था लागू हुनुअघि पुरानो प्रणालीबाट नेपाली कामदारको बायो–मेडिकल दर्ता गर्ने अन्तिम मिति १५ अक्टोबर तोकिएको छ।
बेस्टिनेटका अनुसार उक्त मितिसम्म श्रमिकको बायो–मेडिकल विवरण एफडब्लुसिएमएसमा सफलतापूर्वक पठाएर रेकर्डमा आइसकेको हुनुपर्नेछ। त्यसपछि पुरानो व्यवस्थाअन्तर्गत नयाँ बायो–मेडिकल दर्ता गर्न पाइने छैन।
यद्यपि, हाल प्रक्रियामा रहेका कामदारको प्रक्रिया भने बीचमै रद्द नहुने भएको छ। मेडिकल सेन्टरलाई बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला रिपोर्ट, पुनः परीक्षण, मेडिकल रिभ्यु वा विवरण सच्याउन बाँकी रहेका काम तत्काल पूरा गर्न भनिएको छ।
पुरानो प्रणालीअन्तर्गत मेडिकल प्रक्रिया पूरा गरेका योग्य कामदारले ३१ अक्टोबरसम्म भिसा विथ रेफरेन्स (भीडीआर) आवेदनको प्रक्रिया अघि बढाउन सक्नेछन्।
२६ अक्टोबरमा तालिम, ४ नोभेम्बरमा दर्ता लिंक
नयाँ प्रणाली कार्यान्वयनअघि २६ अक्टोबरमा पीआरए प्रणालीको दर्ता तथा खाता सक्रियतासम्बन्धी तालिम सञ्चालन गरिने बेस्टिनेटले जनाएको छ।
त्यसपछि ४ नोभेम्बरमा पीआरए दर्ताका लागि आधिकारिक लिंक उपलब्ध गराइनेछ। त्यसको भोलिपल्ट अर्थात् ५ नोभेम्बरदेखि २५ पीआरए र २५० एआरएको संरचनाबाट नयाँ भर्ती प्रक्रिया अघि बढाइनेछ।
नयाँ व्यवस्थाअन्तर्गत सुरुमा २५ पीआरएमार्फत नयाँ बायो–मेडिकल दर्ता सुरु हुने बताइएको छ।
छनोटको अधिकार सरकारकै रहेको बेस्टिनेटको दाबी
बेस्टिनेटले आफ्नो भूमिका प्रणाली सञ्चालन, प्राविधिक व्यवस्थापन, सहयोग र तालिममा मात्रै सीमित रहने स्पष्ट पारेको छ।
कुन म्यानपावर कम्पनीलाई स्वीकृति दिने वा मान्यता दिने तथा भीडीआर आवेदनमा निर्णय गर्ने अधिकार सम्बन्धित सरकारी निकायमै रहने उसको भनाइ छ। प्रणालीमा दर्ता हुनु वा खाता सक्रिय हुनु मात्रै कुनै कम्पनी मलेसिया सरकारबाट आधिकारिक रूपमा स्वीकृत भएको अर्थ नलाग्ने पनि बेस्टिनेटले स्पष्ट पारेको छ।
संक्रमणका नाममा पुनः मेडिकल र अतिरिक्त शुल्क नलिन निर्देशन
नयाँ प्रणालीमा प्रवेश गर्ने क्रममा प्रक्रियामा रहेका कामदारको अभिलेख सुरक्षित राख्न, दोहोरो दर्ता नगर्न तथा संक्रमणकै कारण पुनः मेडिकल परीक्षण वा अतिरिक्त शुल्क नलिन बेस्टिनेटले मेडिकल सेन्टर तथा भर्ती एजेन्सीलाई निर्देशन दिएको छ।
नयाँ व्यवस्थाअनुसार कामदार स्थानान्तरण, पुनः दर्ता, पुनः मेडिकल परीक्षण वा थप शुल्क आवश्यक भए आधिकारिक निर्देशनअनुसार मात्रै गर्नुपर्नेछ।
विवादबीच कार्यान्वयनमा जाँदै नयाँ प्रणाली
मलेसियाले विदेशी कामदार व्यवस्थापनलाई डिजिटल तथा केन्द्रीकृत बनाउन एफडब्लुसिएमएस प्रयोग गर्दै आएको छ। प्रणालीमार्फत मेडिकल, भिसा, शुल्क तथा अन्य प्रक्रियालाई एकीकृत गर्ने उद्देश्य राखिएको छ।
तर नेपालका हकमा विवाद प्रणालीको डिजिटलाइजेसनभन्दा कामदार भर्ती गर्ने म्यानपावर कम्पनीको छनोट र सीमिततामा केन्द्रित छ।
नेपालले छनोट प्रक्रियाको आधारबारे प्रश्न उठाउँदै आएको अवस्थामा मलेसियाले २५ पीआरए र २५० एआरएको संरचनालाई औपचारिक रूपमा कार्यान्वयनमा लैजाने कार्यतालिका सार्वजनिक गरेको हो। अब १५ अक्टोबरपछि पुरानो प्रणालीअन्तर्गतको नयाँ बायो–मेडिकल दर्ता बन्द हुनेछ भने ५ नोभेम्बरदेखि नेपाली कामदारको मलेसिया भर्तीमा नयाँ संरचना लागू हुनेछ।

