- जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सकिने
- ब्रान्ड फरक भएकै कारण उपभोक्ताले अतिरिक्त शुल्क तिर्नु नपर्ने
- उपत्यकाका १५ देखि २० स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी
काठमाडौं। चाडपर्वको समयमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध गराउन काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न मिल्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गरिरहेको कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। यसरी ब्रान्ड परिवर्तन गर्दा कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
बजारमा ग्यास उपलब्ध भए पनि आफूले प्रयोग गर्ने ब्रान्डको सिलिन्डर नपाउँदा उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न यस्तो व्यवस्था गर्न लागिएको हो।
नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा व्यवस्था कार्यान्वयन गर्ने तयारी भइरहेको छ।
उपत्यकाका १५ देखि २० स्थानमा संयुक्त बिक्री काउन्टर
ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकाका विभिन्न १५ देखि २० प्रमुख स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी गरेका छन्।
ती काउन्टरबाट उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्ने व्यवस्था मिलाइनेछ।
यसले विशेषगरी एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। हाल प्रयोग भइरहेको ब्रान्डको ग्यास नपाउँदा त्यस्ता उपभोक्ताले अर्को कम्पनीको ग्यास सहजै लिन नसक्ने समस्या भोग्दै आएका छन्।
ब्रान्ड नमिलेको भन्दै अतिरिक्त रकम लिन नपाइने
यसअघि फरक कम्पनीको सिलिन्डर साट्दा कतिपय ग्यास विक्रेताले अतिरिक्त रकम लिने गरेको उपभोक्ताको गुनासो आउने गरेको थियो।
नयाँ व्यवस्थामा भने सिलिन्डरको ब्रान्ड फरक परेकै कारण अतिरिक्त रकम लिन नपाइने व्यवस्था गर्न लागिएको छ।
चाडपर्वका बेला ग्यासको माग र वितरण व्यवस्थापनलाई सहज बनाउनुका साथै उपभोक्तालाई अनावश्यक झन्झटबाट मुक्त गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।

