काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाले वृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । गजलको नेपाली साहित्यमा महत्त्व बढाउने तथा गजल विधाका साधकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाकाे, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वृहत् गजल महोत्सव हुने भएकाे हाे।
महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्याङ्कन गराइ ४० वटा रचनाहरु वाचन तथा गायनमा छनोट गरिने नगरपालिकाले जनाएकाे छ ।
प्रतियोगितामा सहभागिताका लागि वैशाख १५ गतेसम्ममा आफूले सिर्जना गरेको मौलिक, प्रकाशन तथा प्रशारण र गायन रेकर्ड समेत नगरिएको बढीमा ७ सेरसम्मको कागजको एकातर्फ मात्र स्पष्ट बुझिने गरी लेखिएको वा टाइप गरिएका गजल gokarneshwor.shikshya2019@gmail.com मा एक प्रति फोटो, फोन नं. र अहिले बसोबास रहेको ठेगानासमेत स्पष्ट गरेर पठाउन भनिएकाे छ ।
इमेल पठाउन असमर्थ गजलकारले नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखामा २०८० साल वैशाख १५ गतेसम्म कार्यालय समयभित्रमा बुझाउन सकिने नगरपालिकाले जनाएकाे छ।
प्रयाेगिताकाे प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ४० हजार रुपैयाँ र तेस्रो पुरस्कार ३० हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार पाँच जना प्रत्येकलाई २० हजार रुपैयाँको दरले प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।