काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।
राष्ट्रियसभाको १४औँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।
संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।