मिना भुसाल
लेखसार: नेपालको भाषानीति र योजना कस्ता छन, कार्यान्वयनमा देखिएका समस्याको के के छन्?वर्तमान अवस्था कस्तो छ र कार्यान्वयनमा कस्ता चुनौतिहरु छन् भन्ने उद्देश्य तय गरी प्रस्तुत लेख तयार पारिएको छ । भाषा संस्कृति एवम् जातिगत विविधता मुलुकको मौलिक पहिचानको फुलबारी हो ।
जातीय धर्म संस्कृति एवं समय विकासका गतिविधिलाई अभिलेखीकरण गर्न सर्वप्रथम लिपि र भाषा चाहिन्छ । नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक सामाजिक परिवेशमा हुर्केको मुलुक हो । बहुभाषिक मुलुकमा सानै भाषाको अस्तित्वलाई जोगाएर बराबरी स्तरबाट भाषिक संयोजन तथा विकास गर्ने कार्य चुनौतीपूर्ण हुन्छ ।
समाज र समयसँग अध्यावधिक बन्दै परिवर्तित सन्दर्भमा सबै भाषाको संरक्षण, संवर्धन र विकास गर्न समाज र संस्कृति अनुकूल नीति तथा योजनाको आवश्यकता पर्छ । नीति निर्माताले मूल भाषा, सरकारी कामकाजको भाषा, परिपूरक भाषा निर्क्योल गर्दादेखि भाषाका हरेक कार्यमा धार्मिक, सास्कृतिक एवं संस्कारगत पक्ष सबलतालाई हेर्नुपर्छ । मुलुकभित्रका सम्पूर्ण भाषाहरूको संरक्षण, संवर्धन र विकास गर्दै अगाडि बढ्नुपर्छ ।
भाषाको विकासबाटै जाति, धर्म, संस्कार एवं संस्कृति र समाजको पहिचान हुने हाे । देशको स्वाभिमान जोगाउने आधार पनि यही हो । त्यसकारण सबै भाषाको विकास, संरक्षण र सम्बर्द्धन गर्न भाषानीति तथा योजना प्रभावकारी हुन आवश्यक छ भन्ने निष्कर्षमा पुगिएको छ । यस निष्कर्षका लागि प्रस्तुत अध्ययनमा अन्र्तवार्ता , पुस्तक र नीतिहरु अध्ययन गरी विश्लेषणत्मक विधिको प्रयोग गरिएको छ ।
मुख्य शब्द : भाषिक नीति, कार्यान्वयन,सामुदायिक विद्यालय, चुनौति ।
परिचय
अध्ययनको पृष्ठभूमि
भाषा संस्कृति एवम् जातिगत विविधता मुलुकको मौलिक पहिचानको फुलबारी हो । जातीय धर्म संस्कृति एवं समय विकासका गतिविधिलाई अभिलेखीकरण गर्न सर्वप्रथम लिपि र भाषा चाहिन्छ । संस्कृति र भाषा मुलुकको पहुँज भित्रको विषय हो । यिनको नियन्त्रणमा जाति, भाषा र संस्कृतिको संरक्षण भएको हुन्छ भने अर्कोतर्फ संस्कृतिबाट भाषाको लिपि विकास, अभिलेखीकरण पनि भइरहेको हुन्छ । संस्कृतिलाई भाषा र मानवीय व्यवहारले जीवन्तता प्रदान गर्ने भएकाले भाषा बिना संस्कृतिको अस्तित्व कमजोर हुन्छ । नेपालजस्तो बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरेको मुलुकको सन्दर्भमा सबै भाषाको अस्तित्वलाई जोगाएर यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक गरिमालाई जीवन्त राख्न सक्नुपर्छ ।
नेपालमा फरक फरक गुण तथा विशेषता भएका जातिगत तथा भाषागत समूहहरू छन् । वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार १२५ जाति र १२३ मातृभाषी समूह रहेको उल्लेख छ । देशभित्र बोलिने सबै भाषाहरूप्रति राज्यले गर्ने व्यवहारको मार्गदर्शन नै भाषानीति हो । शिक्षा, प्रशासन, न्यायालय, आमसञ्चार जस्ता क्षेत्रमा राज्यमा भएका भाषाहरू मध्ये कुन भाषालाई कुन तहसम्म पुर्याउने भन्ने सरकारले लिएको धारणा नै भाषा नीति हो । (पोख्रेल, २०७४)
कुनै देशमा बोलचाल वा प्रयोगमा आउने जति भाषा छन् ती सबै भाषाहरूलाई राज्यका कुन कुन कामका लागि रोज्ने अथवा राज्यले कुन भाषा प्रति कस्तो व्यवहार गर्ने भन्ने नीतिलाई नै त्यस देशको भाषानीति भनिन्छ । देशमा रहेको भाषिक स्थिति नै भाषानीति निर्धारणको आधार हो । भाषा नीति भनेको देशमा भएका भाषाहरू मध्ये कुन भाषालाई कुन स्थान दिने भन्ने व्यवस्था हो । राज्यको हित, फाइदा र सजिलाका लागि भाषानीति बनाइन्छ । नेपाली भाषाको मूल थलो कर्णाली प्रदेशको सिञ्जा क्षेत्र हो । सिञ्जालाई राजा नागराजले राज्य बनाएपछि नेपाली भाषाको विकास हुने मौका पायो । तत्कालिन समयदेखि नै नेपाली भाषा राजकीय तथा प्रशासनिक भाषाको रुपमा प्रयोग भएको थियो । बहुभाषिक राष्ट्र नेपालमा सम्प्रेषण आवश्यकता परिपूर्तिका निम्ति राज्य कालदेखि नै नेपाली भाषा सम्पर्क भाषाको रुपमा रहेको पाइन्छ । (भण्डारी र पौडेल २०७३)
हाम्रो बहुभाषिक देश नेपालमा भाषिक विविधताले सजिएको समाजका कारणले भाषा, संस्कृति कलाकौशल आपसमा आदानप्रदान हुनु गौरवको कुरा हो । कतिपय अवस्थामा भाषिक समुदायका आधारमा मातृभाषा बाहेकका अन्य भाषा बोल्न नसक्ने हुन्छन् । मातृभाषा बाहेक नेपाली भाषाको वातावरण नपाएका विद्यार्थीहरुलाई नेपाली भाषाका पाठ्य सामग्रीहरु बुझ्न गाह्रो हुन्छ । यस स्थितिमा भाषिक रूपमा पछौटेपन भएका विद्यार्थीहरूको शिक्षण उद्देश्यसम्म पुगेर उपलब्धी हासिल गर्न समस्या हुन्छ ।
शिक्षाको विकासमा भाषिक विविधताले सकारात्मक प्रभाव पार्ने नीतिको खाँचो पर्दछ । मातृभाषामा शिक्षा दिने पद्धतिको विकास हुने हो भने भाषाका कारणले विद्यालय जान नचाहने समस्या कम रहने देखिन्छ । विद्यार्थीले कक्षामा प्रयोग भएको भाषालाई नबुझ्दा आवश्यक ज्ञान प्राप्त गर्न सक्दैनन् र पढाईलाई गति दिन सक्दैनन् । बुझेको भाषामा सिकाइको प्रभावकारिता बढी हुन्छ । मातृभाषामा शिक्षा दिने वातावरण भएमा बालबालिकाले भाषा बुझेका कारणले विद्यालय छोड्नु पर्दैन । केही जानेको भाषामा सिकाइको ज्ञानलाई सबल बनाउन विद्यालयको परिवेशमा उसले जानेका मातृभाषाको वातावरण हुनु वैज्ञानिक मानिन्छ ।
भाषालाई व्यक्तिले प्रयोग गर्छ तर यसलाई समाज र राष्ट्रसँग जोडेर मात्र व्याख्या गर्न सकिन्छ । भाषाभाषी जोगाउने दायित्व सर्वप्रथम भाषिक समुदायको हो भने दोस्रोमा मुलुकभित्रका सम्पूर्ण भाषाहरूको जगेर्ना, संरक्षण र विकासमा ध्यान पुराउनु राज्यको जिम्मेवारी हो । नेपाली भाषा लामोसमयदेखि सम्पर्क भाषा, शिक्षाको आधार भाषा, प्रशासकीय अस्तित्वको भाषाका रूपमा विकसित हुँदै यहाँसम्म आइपुगेको हो । राज्यले आफ्नो राष्ट्र भाषाहरूमा शिक्षा दिने कुरालाई बिर्सेर अन्धानुकरण गर्दै शिक्षामा अङ्ग्रेजी माध्यमलाई हावी बनाउनु आवश्यक छैन ।
विद्यार्थीहरुलाई अङ्ग्रेजी माध्यमको नाममा नेपाली लगायत मातृभाषामा कमजोर भई निवेदनसम्म लेख्न नजान्ने, नेपालीमा शुद्ध पढ्न, लेख्न नजान्ने स्थिति आइरहेको छ । अङ्ग्रेजी भाषाको मिसावटको गरेर बोल्ने तथा लेखिने पद्धति विकास हुँदै जाँदा नयाँ पुस्ता न नेपाली, न अंग्रेजी, न त मातृभाषा कुनैमा पनि सक्षम बन्न नसकेका गुनासा र वास्तविकता प्रमुख समस्या रहेका छन् । भाषा बिर्सदा आज आफ्नो इतिहासको, संस्कृति, कला, पहिरन, पहिचान, लोकजीवन र लोकगाथा पुराना पुस्तासँगै हराउँदै गएको समस्या देखिन्छ ।
अध्ययनको विधि
यस सेमिनार पत्र तयार गर्न आवश्यक पर्ने विषयवस्तुहरूको संकलन गरी सङ्कलित विषयवस्तुको विश्लेषण एवम् प्रस्तुतिकरण गर्नका लागि गुणात्मक अध्ययन ढाँचाको प्रयोग गरिएको छ । काठमाडौँको एउटा र ललितपुर जिल्लाको एउटा गरी दुई वटा सामुदायिक विद्यालयका प्रधानध्यापक र नेपाली विषयशिक्षकलाइ उद्देश्यमूलक नमुना छनोट विधिबाट छानेर अन्तर्वार्ता विधिको माध्यमबाट सूचना सङ्कलन गरिएको छ ।
साहित्यको पुनरावलोकन
अनुभवजन्य साहित्यको पुनरावलोकन
भाषासम्बन्धी तयार पारिएको विधान वा रणनीतिलाई भाषानीति भनिन्छ । देशभित्र बोलिने भाषा मध्ये कुन भाषालाई राष्ट्र भाषाको मान्यता दिने अनि राष्ट्र भाषाको मान्यता दिँदा कुन कुन पक्षलाई महत्वपूर्ण आधारका रूपमा लिने भन्ने विषयका बारेमा भाषानीतिमा व्यवस्था गरिएको हुन्छ ।
राष्ट्र भित्रका भनेक भाषाको सम्मान र स्तर निर्धारण गर्ने कार्य भाषानीतिले गर्दछ । वर्तमान समयमा नेपालको संविधान २०७२ ले नेपालभित्र बोलिने सबै मातृभाषालाई राष्ट्र भाषाका रूपमा लिएकाले वर्तमान नेपालको भाषा सम्बन्धी नीति एकदमै लचकता र सबै भाषालाई समान महत्वका साथ हेर्ने गरेको पाइन्छ । यसले गर्दा हरेक भाषाको आआफ्नै क्षेत्रमा उच्च महत्व रहेको पाइन्छ । (पौडेल र धामी २०७६)
वि.सं.२०४७ को संविधानले नेपाली भाषालाई राष्ट्रभाषा तथा सरकारी कामकाजको भाषाको रूपमा र यसका अतिरिक्त नेपालमा अन्य भाषालाई राष्ट्रिय भाषाको रूपमा स्थान दियो । बहुभाषिक नीतिको दृष्टिकोण अनुरुप वि.सं. २०४९ मा राष्ट्रिय भाषानीति सुझाव आएको गठन भई २०५० सालमा प्रतिवेदनसमेत तयार भयो ।
अन्तरिम संविधान २०६३ पछि मुलुक सङ्घीयता तर्फ मोडिएको सबै भाषाका विषयमा पनि बहुभाषिक नीतिको मान्यता अझ बढी कसिलो हुन पुगेको छ । संविधानतः नियाल्दा वर्तमान भाषानीतिलाई नेपालमा रहेका भाषिक स्थितिले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । २०७२ को संविधानले विशेष त जातीय बहुलतासँग जोडेर बहुभाषाको कदर गर्ने नीतिलाई स्पष्टरुपमा निर्देश गरेको छ । (पौडेल र भट्टराई २०७७)
नीतिगत व्यवस्था
शिक्षा ऐन २०२८ मा भाषा
विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अङ्ग्रेजी भाषा वा दुवै भाषा हुने छ । (दफा ७, उपदफा १)उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुरा बमोजिम हुनेछः
क) प्राथमिक शिक्षा मातृभाषामा दिन सकिनेछ ।
ख) गैर नेपाली नागरिकले नेपालको विद्यालयमा अध्ययन गर्दा अनिवार्य नेपाली विषयको सट्टा अन्य कुनभाषाको विषय अध्ययन गर्न सक्नेछ ।
ग) भाषा विषयमा अध्ययन गराउँदा शिक्षाको माध्यम सोही भाषा हुन सक्नेछ ।
घ) अनिवार्य अङ्ग्रेजी विषय अध्ययन गराउँदा अंग्रेजी भाषामा नै गराउनुपर्नेछ ।
शिक्षासम्बन्धी प्रतिवेदनहरू
नेपाली भाषामा शिक्षालाई जोड दिइएको (राष्ट्रिय शिक्षा योजना आयोग, २०११) निजी विद्यालयमा अंग्रेजी भाषा नीतिमा जोड दिएको छ ।(सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१९)पूर्व कक्षाहरुमा बहुभाषा शिक्षा प्रणालीमा जोड दिएको । (National Language Policy Recommendation Commission, 1993) मातृभाषामा शिक्षालाई जोड दिएको ।(उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५)नवौँ र दसौँँ योजनाले विद्यालयमा मातृभाषा शिक्षा हुनुपर्ने कुरामा जोड दिएको । (राष्ट्रिय शिक्षा आयोग)
नेपालको संविधान२०७२ मा भाषा
नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने छ । (भाग ३, धारा३१, उपधारा ५, २०७२) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुने छ । (भाग ३, धारा ३२, उपधारा ३, २०७२)
सूचनाको व्याख्या र विश्लेषण
नेपालको भाषा नीति र कार्यान्वयनको वर्तमान अवस्था
भाषा वक्ताको व्यवहारमा जीवन्त रहन्छ र लिपिमा संरक्षित हुन्छ । संसारका धेरै भाषाहरूको आफ्नै लिपि छ । कतिपय त्यस्ता भाषाहरू पनि छन् जुन बोली व्यवहार र कथ्य रूपमा प्रशस्त प्रयोगमा आएका छन् तर तिनको लिपि छैनन् । कतिपय भाषाहरूको न त प्रयोगको अवस्था छ, न त लिपिको विकास नै आएको छ ।
आपसमा नबुझिने भाषा भाषीबिचको सम्बन्धले भाषामा सम्प्रेषण न्यूनतम आवश्यकता पूर्ति अर्थ पिजिन हुने र पिजिन भएकै भाषालाई मातृभाषा कै स्तरमा प्रयोगमा ल्याउनुपर्ने अर्थात क्रेओल हुने अवस्था बाहेक धेरै भाषा कुनै न कुनै जाति, वर्ग वा समुदायको मातृभाषा वा पहिलो भाषाका रूपमा अस्वीकार भएको देखिन्छ ।
कोही भाषाहरू, स्थान, परिवेश र प्रयोगको अवस्था अनुरूप स्थानीय तहमै सीमित भएका हुन्छन् त कोही भाषाहरू क्रमशः प्रयोग र संरक्षण अवस्थाबाट ओझेलमा पर्दै लोपोन्मुख र मृत्युवरण स्थितिमा पुगेका छन् । वि.सं. २०७२ मा जारी भएको सङ्घीय राज्य प्रणालीको संविधानमा मुलुकका भित्री अन्तरनिहित बहु भाषाको संरक्षण र विकासका निम्ति संविधानतः नयाँ भाषानीति मैत्री कानुन निर्माण भएका छन् ।
यस आधारमा नेपालका सबै भाषाको संरक्षण र विकास गर्ने सकारात्मक परिवेश बनेको छ । वि.सं. २०४७ को भाषा नीतिभन्दा २०६३ को भाषासम्बन्धी बनाइएको नीति फराकिलो देखिन्छ भने २०७२ को संविधानको भाषाको उपादेयतालाई अझ बहुआयामिक कोणबाट स्थान प्रदान गरिएको छ ।
नेपालमा भाषानीति र कार्यान्वयन सम्बन्धी नीति तथा कार्यक्रम
वि.सं. २०६४ को आन्दोलनपश्चात् निर्माण गर्न लागिएका संविधानका निम्ति सुझाव सङ्कलन गर्ने क्रममा अल्पसङ्ख्यक भाषिक समुदायले आ–आफ्ना मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिनुपर्ने माग प्रस्तुत गर्दै सरकारको नेपाली भाषाप्रतिको झुकावलाई एक भाषावादी नीतिका रूपमा विरोध गरे । यसपछि २०४७ मा निर्मित संविधानले भाषानीतिमा ठुलो परिवर्तन ल्याएको छ । २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनपश्चात निर्माण भएको नेपालको अन्तरिम संविधान २०६३ ले भाषाका बारेमा २०४७ को संविधानले भन्दा फरक दृष्टिकोण राखेको छ । २०६३ को संविधानमा उल्लेख भए अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । (भाग १, धारा ५, उपधारा १, २०६३) ।
भाषानीति र कार्यान्वयनको प्रयोग तथा अभ्यास
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली एवं हिमालदेखि तराईसम्म बस्ने विभिन्न बहुभाषी समुदायलाई नेपाली भाषाले एकताबद्ध गरेको छ । यहाँको सामाजिक संरचना, संस्कृति, भेषभूषालाई पनि आफ्नै तरिकाले समेटेको देखिन्छ । नेपालको बहुभाषिक वातावरण, भुगोलको बनावट, र संस्कृतिको विविधता सापेक्ष छ । दुःखको कुरा नेपालमा भाषिक मृत्युको खतरा पनि उत्तिकै रहेको छ । माचर र वेन्डो (सन् १९९९) ले प्रत्येक दुई हप्तामा विशिष्ट एउटा भाषाको अस्तित्व लोप हुने तर्फ अघि सारेका छन् । तथापि सबै परिस्थिति र प्रत्येक भाषामा यो तर्कले काम गर्दैन । यसको अर्थ भाषाको अस्तित्व लोप हुँदैन भन्ने कुरा पनि होइन ।
भाषानीति र कार्यान्वयनको शिक्षाको नीति र अभ्यासको वर्तमान अवस्था
नेपाली भाषा लामो समयदेखि सम्पर्क भाषा, शिक्षाको आधार भाषा, प्रशासकीय अस्तित्वको भाषाका रूपमा विकसित हुँदै यहाँसम्म आइपुगेको हो । विविध कारणबाट नेपाली भाषा शिक्षाको माध्यम बन्नु स्वाभाविक देखिन्छ तथा अर्कातिर अङ्ग्रेजी भाषा शिक्षाको माध्यम भाषा बन्न स्वभाविक देखिन्छ र अर्कोतिर अङ्ग्रेजी भाषा अन्तराष्ट्रिय सम्पर्कका सन्दर्भमा भने आवश्यक रहेको महसुस हुन्छ । यसको अर्थ राज्यले आफ्नो राष्ट्र भाषाहरूमा शिक्षा दिने कुरालाई बिर्सेर अन्धानुकरण गर्दै शिक्षामा अंग्रेजी माध्यमलाई नै हावी बनाउन चाहिँ आवश्यक छैन ।
विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यमको नाममा नेपालीलगायत मातृभाषामा कमजोर भई निवेदन सम्म लेख्न नजान्ने, नेपालीमा शुद्ध पढ्न, लेख्न नजान्ने परिस्थिति आउनु हुँदैन अङ्ग्रेजी भाषाको मिसावट गरेर बोल्ने, बोलिने तथा लेखिने पद्धति विकसित बन्दै जाँदा नयाँ पुस्ता न नेपाली न अंग्रेजी , न त मातृभाषा कुनैमा पनि सक्षम बन्न नसकेका गुनासा र वास्तविकता छन् ।
कुनैपनि मातृभाषीको भाषालाई अर्को मातृभाषीले वर्षौ सिकेर पनि सम्बन्धित मातृभाषीको जति ज्ञान आर्जन गर्न गारो हुन्छ । आफ्नो भाषा जोगाउनको अर्थलाई, गाँस, बाँस र कपासको सन्दर्भमा लगेर जोड्नुपर्ने विवशताले अवसर पाइरहेको छ । नेपालभित्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभएर बाहिरी मुलुकसम्म नाता गाँस्ने सम्प्रेषणीय आधार जुन ४४.६३ प्रतिशतका वक्ताले बोल्ने गरेको नेपाली भाषा नै अंग्रेजी मिश्रण खिचडीमा फसिरहेको छ ।
भाषानीति सम्बन्धि धारणा
भाषानीति प्रतिको बुझाईको अवस्था
भाषानीतिलाई कसरी बुझ्नुभएको छ भनी सोधिएका प्रश्नमा भाषानीति संस्कृति संरक्षण आधारको रूपमा रहेको दुवै प्रधानाध्यापकले बताएका छन् भने एउटा व्यवस्थाको रूपमा र विकास तथा सुधारका लागि तयार पारिने दस्तावेजका रूपमा नेपाली विषय शिक्षकले बताएका छन् ।
मातृभाषा भनेको सांस्कृतिक पहिचानको अंश र जन्मैबाट सिक्ने प्रक्रिया हो प्रधानाध्यापकले बताएका छन् भने पहिलो भाषा भन्ने जानकारी नेपाली शिक्षकबाट प्राप्त भएको छ । तपाईंको विद्यालयमा कुन मातृभाषामा पढाइ भइरहेको छ भन्ने प्रश्नमा चारैजनाको मिश्रित उत्तर नेपाली भाषामा भन्ने प्रस्ट्याएका छन् ।
नेपालमा भाषानीतिको वर्तमान अवस्था कस्तो छ भन्ने प्रश्नको उत्तरमा प्रधानाध्यापकको साझा धारणा प्रचलित मातृभाषी वक्ताको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको भन्ने बताएका छन् भने भाषाहरू सङ्कट तर्फ उन्मूख भएका छन् भन्ने धारणा नेपाली विषय शिक्षकको पाइएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम आधारभूत तहमा शिक्षा दिने व्यवस्थामा सबै मातृभाषीलाई सहजीकरण गर्न सम्भव छैन त्यसैले सबैलाई नेपाली भाषामै शिक्षा दिने व्यवस्था गरिएको छ भन्ने चारैजनाको एउटै उत्तर आएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भाषासम्बन्धी उल्लेख गरेका कुरा तपाईंको विद्यालयमा कार्य गर्न सकिन्छ भन्ने प्रश्नमा विद्यालयले केही रणनीति नबनाएको कार्यान्वयन गर्न नसकिने कुरा स्पष्ट रूपमा नै बताएका छन् । शिक्षा ऐनमा व्यवस्था भएअनुसार प्राथमिक शिक्षामा मातृभाषा दिन कुराले समस्या भइरहेको छ भन्ने प्रश्नमा कक्षाकोठा र दक्ष शिक्षकको अभाव, नीति नियम कागजमा मात्रै सिमित रहेको बताएका छन् ।
अंग्रेजी भाषाप्रति विद्यार्थीको धारणा रुचिको विषय र समुदाय र विद्यालयमा फरक भाषा हुनाले सिक्न समस्या भएको कुरा पनि पुष्टि गरेका छन् । नेपाली भाषा र नेपाल भाषाप्रति विद्यार्थीको प्रतिक्रिया नेपाल भाषाको उपयोग कम रुचिको विषय होइनन् अरू मातृभाषिक पृष्ठभूमि हुनेहरूका लागि नेपाल भाषा सिक्न गारो भएको विद्यार्थीले प्रतिक्रिया गर्ने कुरा उल्लेख गरेका छन् । राज्यले भाषिक नीतिमा उल्लेख गरेका कुराको विद्यालय शिक्षामा कार्यान्वयनको अवस्था विविधता हुनाले कार्यान्वयन गर्न कठिन र अङ्गे्रजी विषय प्रति बढी आकर्षित हुनु भन्ने जवाफ पाइयो ।
भाषानीति कार्यान्वयनको समस्यालाई कसरी समाधान गर्न सकिन्छ दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र नीति अनुसारको लगानी गर्नुपर्ने भन्ने जवाफ पाइयो । अन्त्यमा भाषानीतिलाई प्रभावकारी बनाउन के कस्ता नीति अवलम्बन गर्नु पर्ला मातृभाषा सम्बन्धी पाठ्यक्रम बनाउनुपर्ने, तालिम प्राप्त शिक्षकहरूको व्यवस्था गर्नुपर्ने र शिक्षण सिकाइको गुणस्तरमा वृद्धि गर्नुपर्ने तथा सीपमूलक शिक्षामा सरकारी लगानी जरुरी देखिने लगायतका सुझाव दिएका छन् ।
निष्कर्ष
मुलुकभित्रका सम्पूर्ण भाषाहरूको संरक्षण, संवर्धन र विकास गर्दै अगाडि बढ्नुपर्छ । राज्यको भाषानीति भित्र मूलुकमा निहित सजातीय मातृभाषाहरूको समूह बनाएर भाषिक उत्थान र विकासको अभियानमा जुट्नुपर्ने कुरामा सरोकारवालाहरूको ध्यान नजानु आजको समस्या तसर्थ बहुभाषिक मुलुकमा सबै भाषालाई जोगाउन उदार भावको सोच र नीति बनाउन सके सबै जातिको धर्म संस्कार र संस्कृतिको संरक्षण एकसाथ हुनजान्छ ।
भाषाको विकास बाटै जाति, धर्म, संस्कार एवं संस्कृति र समाजको पहिचान हुने हा । देशको स्वाभिमान जोगाउने आधार पनि यही हो । त्यसकारण सबै भाषाको विकास, संरक्षण र सम्बर्द्धन गर्न भाषानीति तथा योजना प्रभावकारी हुन आवश्यक रहन्छ ।
सन्दर्भ सामग्री
अधिकारी, सूर्यमणि (२०५६) नेपाली भाषाको इतिहास, काठमाडौँः भुँडीपुराण प्रकाशन।
अधिकारी, हेमाङ्गराज (२०६२), सामाजिक र प्रायोगिक भाषाविज्ञान, काठमाडौंः रत्न पुस्तक भण्डार ।
कानुन किताब व्यवस्थापन समिति (२०२८) शिक्षा ऐन, काठमाडौंः लेखक ।
तामाङ्, अमृतयोन्जन (२०६९), बहुभाषिक शिक्षाका कुरा, काठमाडौँः दिदीबहिनी अफसेट प्रेस प्रा.लि ।
पौडेल, राजेन्द्रप्रसाद र भट्टराई रमेश (२०७७), नेपालको भाषानीति र योजना आधार, काठमाडौँः इन्टेलेक्च्युअल्ज बुक प्यालेस ।
भण्डारी पारसमणि र पौड्याल, सालिकराम (२०७३) सामाजिक भाषाविज्ञान र मनोभाषाविज्ञान, काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।
मण्डल, जयप्रकाश, मण्डल अमरेन्द्रकुमार र विक, रेवतशंकर (२०७५), समकालिन शैक्षिक मुद्धाहरू, काठमाडौँ : दिक्षान्त पुस्तक प्रकाशन ।
रेग्मी, दानराज (नोभेम्बर २०१७), नेपालमा भाषाहरूको स्थिति र भाषिक सर्वेक्षण : समीक्षात्मक विश्लेषण, काठमाडौँ : त्रि.वि., भाषा केन्द्रीय विभाग ।
वस्ती, शरदचन्द्र (२०६९), हाम्रो भाषा, काठमाडौँ : फाइनप्रिन्ट बुक्स ।