सन्तोस सुवेदी
कुरा आजभन्दा केही वर्ष अगाडिको हो, ‘जतिबेला एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने नारा सुनेर मनमा अनेकन खुसीका रंगहरुसँगै मस्र्याङ्दी नदीको बर्खे भेलजस्तै उर्लिएको हुँदो हो ।
यसरी उर्लिनुमा मलाई थाहा थियो कि हाम्रो जस्तो भूगोलले ठगेको अनि सोही कारणले पूर्वाधारमा भर्खर बामे सर्दै गरेको स्थानको जनताको स्वास्थ्य, शिक्षा, बिजुली, बाटोघाटो लगायतको क्षेत्रमा पाएको सास्ती अनि दुःख ।
यसर्थ, स्थानीय तह २०७४ पछाडि पालिकामा विकासले फड्को नमारेको त होइन तर पनि यी सबैका बीचमा धेरै कुराको बाँकी रहँदै गर्दा एकैपटक सहज नहुनु स्वभाविक हो । यी कुरालाई थाती राख्दै जुन १५ वेडको आधारभूत अस्पतालबारे पोखिने जमर्कोमा छु ।
लमजुङको पश्चिमी भेग पोखराबाट ४०–४५ किमीको दुरिमा रहेको क्व्होलासोथार गाउँपालिका वडा नं. ९ लमजुङ सदरमुकाम बेसिशहरबाट केही कोल्टे परेको स्थान हो । गिलुङबाट पालिका सदरमुकाम मालिङ, बेसिशहर डुम्रे हुँदै पोखरा बर्खायामको समयमा बाइकको लगभग १७ घण्टाको यात्रा पक्कैपनि सहज यात्रा होइन ।
पालिकामा आवश्यक कागजात तयार गरी तत्कालिन वडाअध्यक्षसहित १७ घण्टाको यात्राबाट प्रदेश सामाजिक विकास मन्त्रालयमा पेश गरिएको कागजातको केही महिना पश्चात साल्मेभन्ज्याङ्ग स्वास्थ्यचौकी १५ वेड अस्पतालमा स्तरउन्नति हुने पक्का भएको लिस्ट्मा नाम कैद भएर रिप्लाइ आएसँगै स्थानीय स्तरमा खुसीको सीमा रहेन ।
हुन त सरकारले घोषण गरेअनुरुप एक स्थानीय तह एक अस्पताल भन्ने नीति अनुरुप यसलाई कार्यान्वयन गर्ने अनि तोकिएकै स्थानमा अस्पतालको लागि सिफारिस गरिनुमा तत्कालीन पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा, कार्यापालिका लगायतको टिमको महत्वपूर्ण भूमिका रहने कुरालाई नकार्न सकिँदैन र कमसेकम सुरुवाती चरणमा प्रवेश गर्नु धेरै ठूलो कुरा थियो ।
सोही अनुरुप देशैभर एकैपटक थुप्रै स्थानीय तह सँगै २०७७ मङ्सिर १५ गते शिलान्यास भयो । शिलान्याससँगै ग्रामीण जनता अधिकांश पुराना पुस्ता जसले घरको एउटा कुनामा जन्मेदेखि हालसम्म स्वास्थ्य उपचारका लागि भोगिरहेको पीडा अन्त्यको सपनाको शिलान्यास भयो ।
सानोभन्दा सानो टेष्ट तथा डाक्टरी सेवा तथा परामर्शको सपनाको शिलान्यास भयो । (भलै हाल पालिकाको आफ्नै स्रोतबाट डाक्टरी सेवाको सुरुवात गर्न सफल भएको छ) १०० को रगत परिक्षणको लागि २००० खर्च गरेर बजार झर्नुपर्ने अन्त्यको सपनाको शिलान्यास भयो भनेर शहर केन्द्रित बसाइँसराइ उन्मुख गाउँबासीलाई गाउँमै बस्न प्रेरित गर्दै हौसिएर साधिएका ती सपना अनि उत्साहपन देखेर म एउटा सामान्य स्वास्थ्य सेवा प्रदान गरेर घरघरमा डुलेर स्वास्थ्य अवस्था सुधार गर्छु भन्दै हिँडेको एउटा योद्धा खुसी नहुने कुरै थिएन ।
समय बित्दै गयो डिपिआर भयो, प्रक्रियागत ढंगबाट टेन्डर आह्वान भइ २०७८ साउनमा १९ गते निर्माण कम्पनीले कार्यभार गर्ने सम्झौता भयो ।
स्थानीय नागरिकसँगै स्थानीय सरकार सबैमा आशाको पालुवाहरु पलाउँदै गर्दा आज २०८० साल साउनसम्म आइपुग्दा निर्माण कम्पनीसँगको सम्झौता भइ जिम्मा लिएर सक्नुपर्ने समयको दुई वर्ष समयसीमा पूरा भएको छ । आज गाउँका जनताले दुई वर्ष अगाडिदेखि बुनेका आशाका किरण, राज्यप्रतिको विश्वास अनि रोपिएका सपनाहरुको कोपिला ठूलो भइ फुल्यो त ? अस्पताल कहिले तयार हुन्छ ? कति बनिसक्यो ? जस्ता प्रश्न गर्ने स्तरिकृत अनि सम्पन्नशाली अस्पतालबाट सेवा लिन पर्खिरहेका वृद्ध बा आमाहरुलाई घरमा सेवा दिन जाँदै गर्दा सुतिरहेको वेडबाट काप्दै सोधिरहेका आवाजले मलाई भावुक बनाएका कयौं पलहरु देख्दा सोही सेवाको अभावमा कतिबेला निभ्ने हुन भन्ने लाग्छ अनि कहाली लाग्छ ।
मलाई आज प्रश्न गर्ने ती तमाम निर्दोष गाउँबासीलाई दिन सक्ने जवाफ छैन । जसले एउटा स्वास्थ्य संस्था प्रमुखको नाताले होला म जाबो भुइँमान्छेलाइ अनेकन प्रश्नहरु गरिरहँदा मुटुमाथि डुंगा राखेर छिट्टै बन्दैछ भनि विश्वास दिलाउन विवस बनाउँछ । अनि एक मनले मलाई मेरो राज्य र सरकारसँग झोक चलेर आउँछ । कोपरौ जस्तो लाग्छ तर निरीह छु मेरो सम्पूर्ण आवेग निर्माणधिन जग बसेर ढलान हुन नसकेर चिच्याइ रहेको अस्पताल परिसरमा मात्र सिमित छन् ।
दुःख त यसमा छ काम गर्दै गरेको दोस्रो निर्माण कम्पनी जसलाई बेलाबखत कम्पनीबाट अवरोध सिर्जना हुँदो रहेछ जसलाई पटक–पटक आर्थिक अनि मानसिक रुपमा समस्या पैदा हुँदै गर्दा काम अगाडि बढ्न सक्ने अवस्थामा अप्ठ्यारो परिस्थिति सँगै जनताको भावना मरेको छ ।
उसो त निर्माण कम्पनीलाई स्थानीय तह तथा स्थानीय सरोकारवालाको स्तरबाट बारम्बार ताकेता नगरेको पनि होइन हेर्दा सामान्य लाग्ने तर व्यहारमा थुप्रै कठिनाइहरु हुँदा रहेछन् । प्रणाली एकातिर काम एकातिर अनि जनताको मर्म अर्कोतिर भइरहँदा चाहेर पनि यसको समाधान हुन सकेको छैन ।
विलो टेण्डर प्रणाली, एकै कम्पनीलाई धेरै ठेक्का पाउनसक्ने तथा ठेक्का पारेर आफू मातहतका साना ग्रेडका कम्पनीलाई काममा खटाउने जस्ता ठेक्का प्रणाली, काम गराइ जस्ता समस्या देखिँदै गर्दा काम गर्देउ भनेर हजारौं पटक हात जोड्नुपर्ने, गुणस्तरको पाटोमा शंका गर्नुपर्ने अलपत्र पर्छ कि भनि डराइरहनुपर्ने, हजारौं फोनकल दबाब फगत यो कहिलेसम्म ? निर्माण कम्पनीका पनि आफ्नै समस्याहरु होलान, यसमा दोषी को त ? राज्य कि निर्माण कम्पनी ? कि जनता ? र अस्पताल कहिले बन्छ भन्ने जनताको प्रश्नको उत्तर कसले दिने यसको उत्तर खोज्ने प्रयत्नमा छु सायद धेरै टाढा जान पर्ने छैन ।
सुख दुःखमा रमाइरहेका जनतालाई सपनाहरु देखाइ ती सपनालाई अलपत्र पारी आशालाई खरानी बनाउने काम राज्यको नीति तथा प्रणालीबाट नहोस् । र देशै भरका सम्पूर्ण विकट भन्दा विकट गाउँको जनताको गुणस्तरिय स्वास्थ्य सेवामा राज्यको ध्यान केन्द्रित होस् ।
सन्तोस सुवेदी
क्व्होलासोथार गाउँपालिका ९ लमजुङ ।