काठमाडौं । भक्तपुरस्थित बाल सुधार केन्द्रबाट एक सय बढी बालबालिका भागेका छन् । विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ । सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरु सोमबार दिउँसो ढोका फोरेर भागेको प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकका अनुसार भागेकामध्ये केहीलाई नियन्त्रणमा लिइएको छ । रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि तनाबको अवस्था सिर्जना भएको थियो । सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै उनीहरु तोडफोडमा उत्रिएका हुन् ।