काठमाडौं । गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा क्षति पुगेपछि कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७ नम्बरको ट्रकमा आगालागी भएको हो । कर्णाली पुलमाथि गुडिरहेका वेला एक्कासि ट्रकमा आगलागी हुँदा पुलका लट्ठामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पुलको दुवैतिरका गरी करिब १४ वटा लट्ठामा सामान्य क्षति पुगेको चिसापानी प्रहरीले जनाएको छ । लट्ठाको बाहिरी भागको प्लास्टिक जलेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।
आगलागीबाट ट्रक र त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको उनले बताए । आगलागी भएपछि पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको छ ।
आगलागीले क्षतिग्रस्त ट्रक र सामान हटाउने काम भइरहेको छ । लम्कीबाट गएको दमकलको सहयोगबाट आगलागी नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।