काठमाडौं । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको घटनाका आरोपित होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
मंगलबार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका- २६, ढोलाहिटीस्थित डिप्रस्पाइन रेस्टुरेन्टमा आइतबार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या आरोपमा होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरिएको बताए ।
घटनामा संलग्न रहेका एक आरोपित अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा खोटाङ साकेला गाउँपालिका– २, सेखुवा घर भई हाल ललितपुर महानगरपालिका– २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छाप घर भई हाल ललितपुर महानगरपालिका– १५, खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरिएको छ ।
भोजपुर ट्याम्केमयुङ गाउँपालिका– २, अन्नपूर्ण घर भई ललितपुर– २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारुङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका– ११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका– ६, इमाडोल, सानागाउँ बस्ने २५ वर्षीय छेविहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि अन्य आठ जना व्यक्तिहरू पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।
ललितपुर प्रहरीले पुरानो रिसिबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बोलेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ । प्रहरीले पाँच जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको र अन्यमाथि पनि अनुसन्धान जारी रहेको बताएको छ ।