काठमाडौं । वर्षाले डुम्रे–बेसिशहर सडकखण्ड अवरुद्ध भएको छ। बेसिशहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए ।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेसिशहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेसिशहर र बेसिशहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् ।
बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेसिशहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।