काठमाडौं । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।
लेदोसहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको हो । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको ल्याइएको छ ।
घटनास्थलमा उद्धार कार्य सुरु हुन सकेको छैन । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।