काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँटमा लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएका पाँच जनामध्ये चार जनाको शव फेला परेको हो ।
पहिरोमा परेर बेपत्ता भएकामध्ये धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ शव फेला परेको हो ।
हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन् । उनको शव फेला परेको छैन । पहिरोमा परेर घाइते भएका दुई जनालाई भने हिजै उपचारको लागि हेलीकप्टरमार्फत् काठमाडौँ ल्याइएको छ ।
बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।
पहिरोमा परेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका–५ का ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमाडौँमा उपचार भइरहेको छ।