काठमाडौं । नेपाली सेनाले लमजुङको प्रसिद्ध धार्मिकस्थल दुधपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाली सेनाको चण्डिप्रसाद गणले स्वास्थ्य कार्यालयको सहकार्यमा तिर्थालुहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
लमजुङ र गोरखाको सिमानामा रहेको ऐतिहासिक एवं धार्मिकस्थल दुधपोखरीमा जनै पुर्णिमाको अवसरमा विशेष मेला लाग्छ । दुधपोखरी कुण्ड उच्च लेकमा भएको कारण विगतका वर्षहरुमा कतिपय तिर्थालुहरु विरामी हुने तथा ज्यान समेत जाने गरेको थियो ।
सम्भावित जोखिम हुन नदिन यसवर्ष लेकमै पुगेर स्वास्थ्य शिविर आयोजना गरीएको चण्डिप्रसाद गणका गणपती चित्र कुमार कार्कीले बताए ।
आइतबार र सोमबार गरी दुईदिन सम्म भएको शिविरमा एकसय ५० जनाको स्वास्थ्य परीक्षण गरेको गणपती कार्कीले बताए । सो बाहेक सेनाले यात्राको क्रममा समस्यामा परेका सर्वसाधरणहरुलाई आवश्यक सहयोग समेत गरेको जनाएको छ ।