काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालित ठेक्काहरूको स्वीकृति, रेखदेख, भुक्तानी तथा सहजीकरणका क्रममा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ।
अख्तियारका अनुसार घुस रकम लुकाउन अधिकारीले श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ मा रहेको १३ आना जग्गा खरिद गरेका थिए। जग्गाको वास्तविक कारोबार रकम लुकाई राजीनामामा ९१ लाख रुपैयाँ मात्र देखाइएको तथा बाँकी रकमको स्रोत वैध देखाउने उद्देश्यले बैंक खातामार्फत कारोबार गरिएको आयोगको दाबी छ।
यस प्रकरणमा गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालमाथि पनि घुस दिएको, सहजीकरण गरेको तथा सम्पत्ति शुद्धीकरण कसुरमा सहयोग गरेको आरोप लगाइएको छ।
आयोगले प्रदीप अधिकारी र प्रेमप्रकाश ढकाल दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत घुससम्बन्धी कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा कारबाहीको माग गरेको छ।
अख्तियारले दुवै प्रतिवादीबाट १ करोड ७१ लाख रुपैयाँ बिगो, सो बराबरको जरिवाना, कैद सजाय तथा घुस रकमबाट खरिद गरिएको ललितपुरस्थित जग्गा जफत गर्न विशेष अदालतसमक्ष मागदाबी गरेको जनाएको छ।
आयोगका अनुसार प्रदीप अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार थप सजायको समेत माग गरिएको छ।

