राजेन्द्र राना
‘अरे, उसले त तिम्रो बारेमा यस्तो भनेको रे…’
‘फलानाले तिमीलाई मन पराउँदैन रे ।’
‘अरे, उसले तिम्रो विषयमा त्यस्तो कुरा गर्दै थियो रे…’
‘मैले त भनेको होइन, अरूले भनेको सुनेको रे…’
यी वाक्यहरू सुन्दा सामान्य लाग्न सक्छन् । बोल्ने मानिसका लागि केही सेकेन्डको कुरा होला, सुन्ने मानिसका लागि पनि सुरुमा एउटा सामान्य सूचना जस्तो लाग्न सक्छ । तर कहिलेकाहीँ यिनै केही शब्दले वर्षौँदेखि जोडिएको सम्बन्धमा शंका रोपिदिन्छन्, मनमा तीतोपन भरिदिन्छन् र अन्ततः बोलचालसम्म बन्द गराइदिन्छन् । हामीमध्ये धेरैले यस्ता कुरा कतिपटक सुनेका छौं । अझ दुःखको कुरा, कतिपय अवस्थामा हामीले ती कुरा सत्य हुन् कि होइनन् भनेर बुझ्नुअघि नै विश्वास गरिदिन्छौं । त्यसपछि सुरु हुन्छ मनमुटाव ।
एउटाले अर्कोलाई गलत बुझ्छ । अर्कोले आफूलाई गलत बुझिएको महसुस गर्छ ।
कसैले आफ्नो पक्ष राख्न खोज्छ, तर सुनेको कुरा मनमा यति गहिरो बसिसकेको हुन्छ कि सत्यभन्दा शंका बलियो भइसकेको हुन्छ । सानो कुरा ठुलो बन्छ । ठुलो कुरा विवाद बन्छ । विवाद सम्बन्धमा परिणत हुन्छ । र अन्ततः एउटै घरमा बस्ने मानिसहरूबीच पनि दूरी बढ्न थाल्छ ।
मानिसको स्वभाव नै हो, सुनेको कुरालाई आफ्नै तरिकाले बुझ्नु । एउटाले एउटा वाक्य सुन्छ, अर्कोले त्यही वाक्यलाई फरक अर्थमा बुझ्छ । त्यसमा फेरि आफ्नो अनुमान थपिन्छ । ‘उसले त तिम्रो बारेमा यस्तो भनेको रे ।’ यति मात्र भनिएको थियो । तर हाम्रो मनले त्यसपछि आफ्नै कथा बनाउन थाल्छ- ‘त्यसो भए उसले मलाई मन पराउँदैन रहेछ ।’ ‘सायद उसले मेरो पछाडि धेरै कुरा काटिरहेको रहेछ ।’ ‘मसँग राम्रो भएर अगाडि मात्र नाटक गरेको रहेछ ।’ यसरी एउटा अपुष्ट वाक्यले सयौँ प्रश्न जन्माउँछ । तर ती प्रश्नको उत्तर खोज्न हामी प्रायः त्यही व्यक्तिसँग पुग्दैनौं, जसको नाम जोडिएको हुन्छ । बरु अर्को व्यक्तिसँग गुनासो गर्छौं, अझ अरूलाई सुनाउँछौं । र विस्तारै एउटा मानिसले भनेको भनिएको कुरा धेरै मानिसको कानसम्म पुग्दा त्यसको स्वरूप नै बदलिइसकेको हुन्छ ।
हामीले एउटा कुरा बुझ्न जरुरी छ- ‘सुनेको’ र ‘सत्य’ एउटै होइन । कसैले भनेको कुरा सुन्नु एउटा कुरा हो, त्यसलाई सत्य मानेर निर्णय गर्नु अर्को कुरा । कहिलेकाहीँ कुरा आधा सुनिएको हुन्छ । कहिलेकाहीँ प्रसंगबाहिर निकालिएको हुन्छ । कहिलेकाहीँ बोल्ने मानिसकै बुझाइ गलत भएको हुन्छ ।
र कहिलेकाहीँ त कुनै कुरा भनिएकै हुँदैन । तर हामी प्रमाण खोज्दैनौं, स्रोत खोज्दैनौं, सम्बन्धित व्यक्तिसँग सोध्दैनौं । केवल भन्छौं-‘अरे, यस्तो भनेको रे ।’ यही ‘रे’ ले कति सम्बन्धमा आगो लगाएको छ, यसको हिसाब कसले राख्ने ?
एउटै घरमा वर्षौँदेखि सँगै बसेका दाजुभाइबीच मनमुटाव हुन्छ । कसैले आएर भन्छ-‘तिम्रो भाइले त तिम्रो बारेमा यस्तो भनेको रे ।’ भाइले साँच्चै भनेको थियो कि थिएन, थाहा हुँदैन । तर मनमा शंका जन्मिन्छ । त्यसपछि प्रत्यक्ष कुराकानी घट्छ । आँखा जुध्दा असहजता हुन्छ । सानो कुरामा रिस उठ्छ । पुराना कुरा निकालिन्छन् । अन्ततः एउटै घरका मानिसहरूबीच दूरी बढ्छ । त्यसपछि कुनै दिन सत्य बाहिर आउँछ-‘मैले त त्यस्तो भनेकै थिइनँ ।’ तर त्यतिबेलासम्म सम्बन्धले धेरै चोट सहिसकेको हुन्छ ।
साथीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । तर त्यही विश्वासलाई एउटा अपुष्ट कुराले हल्लाउन सक्छ । ‘तिम्रो साथीले त तिम्रो बारेमा यस्तो भनेको रे ।’ त्यसपछि हामी साथीलाई सोध्नुभन्दा पहिले नै उसप्रति व्यवहार बदल्छौं । फोन उठाउन मन लाग्दैन । भेट्न मन लाग्दैन । बोल्दा पनि औपचारिकता मात्र हुन्छ । अर्कोतर्फ, साथी पनि अचम्ममा पर्छ- ‘मैले के गरेँ ?’ कहिलेकाहीँ सम्बन्ध टुटिसकेपछि मात्र थाहा हुन्छ, सम्बन्ध टुटाउने वास्तविक कारण कुनै घटना थिएन, एउटा नसोधिएको प्रश्न थियो ।
यो समस्या केवल घर वा साथीभाइमा मात्र सीमित छैन । कार्यालयमा एउटा कर्मचारीले अर्कोको बारेमा केही भनेको रे भन्ने हल्ला चल्छ । त्यसपछि सहकर्मीबीच दूरी बढ्छ । समूह बन्छन् । पक्ष–विपक्ष सुरु हुन्छ । समाजमा पनि कसैको व्यक्तिगत जीवन, व्यवहार वा परिवारबारे एउटा कुरा फैलिन्छ । प्रमाण हुँदैन, तर चर्चा धेरै हुन्छ । हामी मानिसको चरित्रलाई कहिलेकाहीँ उसले गरेको कामले होइन, अरूले सुनाएको कुराले मूल्याङ्कन गर्न थाल्छौं । यो हाम्रो सामाजिक सोचका लागि गम्भीर प्रश्न होइन र ?
हामी यति सजिलै किन विश्वास गर्छौं ? आज सूचना प्रविधिको युग हो । हामीसँग सत्य पत्ता लगाउने अनेकौँ माध्यम छन् । प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ, फोन गर्न सकिन्छ, भेटेर कुरा गर्न सकिन्छ । तर विडम्बना के छ भने, प्रविधिले हामीलाई जोड्दै गर्दा हामी मानिसको कुरा बुझ्न भने झन् टाढा हुँदै गएका छौं । कसैले केही भनिदिन्छ, हामीले विश्वास गरिदिन्छौं ।
एकपटक पनि सोच्दैनौं-
‘यो कुरा साँच्चै सत्य हो त ?’
‘यसको अर्को पक्ष के होला ?’
‘मैले सम्बन्धित व्यक्तिलाई नै सोधेर बुझ्नुपर्दैन ?’
यही प्रश्न सोध्ने बानी हराउँदै गएको छ । सत्य बुझ्न एक फोन काफी हुन सक्छ ।
कहिलेकाहीँ एउटा सम्बन्ध बचाउन ठुलो प्रयास आवश्यक पर्दैन-केवल एउटा फोन, एउटा सन्देश वा केही मिनेटको प्रत्यक्ष कुराकानी । ‘तिमीले यस्तो भनेको हो ?’ यति सोध्न सकियो भने वर्षौँको सम्बन्ध बच्न सक्छ । तर हामी सोध्न डराउँछौं । हाम्रो अहंकार अगाडि आउँछ-‘म किन सोध्ने ?’ भन्ने भावना आउँछ । अनि तेस्रो व्यक्तिको कुरा सुनेर दोस्रो व्यक्तिसँग सम्बन्ध बिगार्छौं ।
कति अनौठो छ-जसले भनेको भनिएको हो, उसैलाई विश्वास गर्दैनौं; जसले सुनाएको हो, उसैलाई विश्वास गर्छौं । ‘अरे, रे’ सुन्ने बानीभन्दा ‘सिधै सोध्ने’ बानी बसालौँ । कसैले आएर भन्यो-‘फलानाले तिम्रो बारेमा यस्तो भनेको रे ।’ हामीले तुरुन्त प्रतिक्रिया दिनुको सट्टा एउटा सरल उत्तर दिन सकौँ-‘ठीक छ, म उसैसँग सोधेर बुझ्छु ।’ यति मात्र- न रिस, न आरोप, न झगडा । किनकि सत्य हो भने सम्बन्धित व्यक्तिले स्पष्ट पार्न सक्छ, गलत हो भने एउटा गलतफहमी त्यहीँ अन्त्य हुन्छ ।
हामीले अरूको कुरा सुन्नै नहुने होइन । तर सुनेको कुरालाई अन्तिम सत्य मानेर निर्णय गर्नु हुँदैन । कुरौटेभन्दा पनि हाम्रो कान जिम्मेवार छ । हामी प्रायः भन्छौं-‘त्यो मान्छे त धेरै कुरा काट्छ ।’ तर एउटा प्रश्न हामी आफैँलाई पनि सोधौँ-कुरा सुनाउने मान्छे गलत होला, तर सुन्ने हामी कति जिम्मेवार छौं ?
कसैले हल्ला बोकेर आयो भन्दैमा ढोका खोलिदिनैपर्छ भन्ने छैन । हरेक कुरा सुन्नुपर्ने हुँदैन, हरेक कुरा अगाडि सार्नुपर्ने हुँदैन, हरेक कुरा विश्वास गर्नुपर्ने हुँदैन । कहिलेकाहीँ नसुन्नु नै बुद्धिमानी हो । कसैको बारेमा अपुष्ट कुरा सुनाउँदा हामीले पनि त्यसलाई अगाडि बढाएर अर्को सम्बन्ध बिगार्ने काम गरिरहेका हुन सक्छौं ।
सम्बन्ध बचाउने जिम्मेवारी हामी सबैको हो । परिवार होस्, साथीभाइ होस्, इष्टमित्र होस्, कार्यालय होस् वा समाज-सम्बन्धहरू विश्वासले बनेका हुन्छन् । तर विश्वास निकै नाजुक हुन्छ । वर्षौँ लगाएर बनाएको विश्वास केही शब्दले भत्किन सक्छ । त्यसैले कसैको बारेमा केही सुन्दा एकपटक रोकिएर सोचौँ-
‘यो कुरा मैले किन विश्वास गर्नुपर्यो ?’
‘यसको प्रमाण के छ ?’
‘सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सोध्न सकिँदैन ?’
र कसैले हामीलाई अर्को व्यक्तिको कुरा ल्याएर सुनाउँदा पनि सोचौं- ‘यो कुरा यहाँबाट अगाडि बढाउनु आवश्यक छ कि छैन ?’
किनकि हामीले बोलेको एउटा वाक्य कसैको मनमा पुगेर ठुलो घाउ बन्न सक्छ । अन्त्यमा, ‘रे’ भन्दा सम्बन्ध ठुलो बनाऔँ । हामीले समाज बदल्न ठूला भाषण गर्नुपर्दैन; घरबाटै सुरु गर्न सक्छौं । कसैले कसैको कुरा ल्याएर सुनायो भने तुरुन्त विश्वास नगर्ने । कसैको बारेमा अपुष्ट कुरा सुनेपछि फैलाउन नदिने । गलतफहमी भए सिधै सम्बन्धित व्यक्तिसँग कुरा गर्ने । र सबैभन्दा महत्वपूर्ण-अरूले भनेको कुराभन्दा आफ्नो सम्बन्धमा भएको विश्वासलाई ठुलो मान्ने ।
किनकि ‘अरे’, ‘रे’, ‘सुनेको रे’, ‘भनेको रे’ जस्ता केही शब्द केवल शब्द होइनन् । गलत ठाउँमा प्रयोग हुँदा तिनले मन फुटाउन सक्छन्, परिवार छुटाउन सक्छन्, मित्रता तोड्न सक्छन् र समाजमा अविश्वास फैलाउन सक्छन् ।
त्यसैले अब कसैले आएर भन्यो- ‘अरे, फलानाले तिम्रो बारेमा यस्तो भनेको रे…’ हामीले तुरुन्त रिसाउनु वा सम्बन्ध तोड्नुको सट्टा शान्त भएर भन्न सकौँ- ‘उसले भनेको हो भने, म उसैसँग सोधेर बुझ्छु ।’ सायद यही एउटा वाक्यले एउटा परिवारको झगडा रोक्न सक्छ, एउटा मित्रता जोगाउन सक्छ, एउटा सम्बन्ध टुट्नबाट बचाउन सक्छ ।
कुरा सुन्ने कानभन्दा सत्य बुझ्ने विवेक ठुलो हो । अरूले सुनाएको ‘रे’ भन्दा आफ्नै आँखाले बुझेको सत्य ठुलो हो । र कहिलेकाहीँ सम्बन्ध जोगाउने सबैभन्दा सुन्दर उपाय यही हो-‘अरूले भनेको कुरा होइन, सम्बन्धित व्यक्तिले भनेको कुरा सुनौं ।’

