काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। बिहीबार तोलामा १ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार थप ३ हजार ३०० रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेको छ। यसअघि बुधबार एकैदिन सुनको मूल्य ६ हजार ५०० रुपैयाँले घटेको थियो। लगातारको मूल्य गिरावटपछि सुनमा पुनः सुधार देखिएको हो।
गत कात्तिक २३ गतेदेखि एक सातासम्म निरन्तर घटेको सुनको मूल्य प्रतितोला ४१ हजार ७०० रुपैयाँले सस्तिएको थियो। त्यसपछि बजारमा आएको उतारचढावसँगै पछिल्ला दुई दिनमा मूल्यले पुनः उकालो यात्रा समातेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ३ हजार ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। एकैदिन २० हजार ५०० रुपैयाँले बढेको उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। त्यसयता करिब १० महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँले घटिसकेको छ।
त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो। त्यसको तीन दिनपछि अर्थात् माघ १८ गते चाँदीको भाउ एकैदिन प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो। उक्त गिरावट पनि नेपाली बजारमा हालसम्मकै ठूलो दैनिक गिरावटका रूपमा रहेको छ।
सुनचाँदीको मूल्यमा देखिएको उतारचढावले पछिल्लो समय उपभोक्ता, व्यवसायी तथा लगानीकर्तालाई प्रभावित बनाएको छ।

