काठमाडौं । टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ शुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ शुरु भएको हो ।
टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताए । उनले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिए ।
आजदेखि शुरु भएको कर सप्ताहमा आज बिहान प्रभातफेरी गरिएको थियो । आगामी असोज २० गतेसम्म चल्ने कर सप्ताहमा करसम्बन्धी लोकगीत प्रतियोगिता, घरदैलो कार्यक्रम, विद्यालयमा करसम्बन्धी वतृत्वकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए ।