काठमाडौं । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे मृत्यु भएको पुष्टि भएकाे छ । परराष्ट्र मन्त्रालयले साेमबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत ६ जना नेपालीकाे मृत्यु भएको पुष्टि गरेकाे हाे ।
हालसम्म ४ जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो । तर सोमबार मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो । मृत्यु हुनेहरुमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाकाे पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।
नेपाल सरकारले रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध पनि गरेको छ । मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ ।’
यस्तै नेपाल सरकारले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिनसमेत रुसलाई आग्रह गरेको छ ।