काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मंसिर २९ गते भित्र औषधि पसल दर्ता नगरे कारबाही गर्ने चेतावजी दिएका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको भन्दै मंसिर २९ गतेभित्र नियमानुसार दर्ता गर्न निर्देशन दिएका हुन्।
उनले काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील रहेको प्रस्टाउँदै भनेका छन्, ‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ।’
मेयर शाहले नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, काठमाण्डौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासो आएको बताएका हुन्।
मेयर शाहले मंसिर २९ भित्र काठमाण्डौं महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने पनि बताएका छन्।