काठमाडौं । डा.गोविन्द केसीले आज (शुक्रबार) देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। संक्रमणकालीन न्याय र चिकित्सा शिक्षासँग सम्बन्धित २ बुँदे माग अगाडि सार्दै केसीले शुक्रबार साँझदेखि सत्याग्रह थाल्ने घोषणा गरेका हुन्।
केसीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई प्रमुख मागका रुपमा अगाडि सारेका छन्। केसीले विज्ञप्ति गर्दै सार्वजनिक गरेका २ बुँदे मागको पहिलो बुँदामा संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताइएको छ।
केसीको मागको पहिलो बुँदामा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस्।’
डा.केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित रहेर यसअघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई दोस्रो मागका रुपमा अगाडि सारेका छन्। डा केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन्।
डा.केसीको मागको दोस्रो बुँदामा भनिएको छ, ‘यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस्। सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने। १०० शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्वन्धी विषयका कार्यक्रमहरु सुरु गर्ने। विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने, सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्ने।’