काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुस र युक्रेनको युद्धमा सहभागी नेपालीलाई उद्धार गर्न भनेको छ । केही नेपाली युवाहरू रुसी सेनामा भर्ना भई रुसको तर्फबाट युक्रेनविरुद्धको युद्धमा होमिएका छन् । हालसम्म ६ जनाभन्दा धेरै नेपालीको युद्धमा मृत्यु भइसकेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा रहेका नेपालीहरू घाइते रहेको र केही विपक्षी सेनाको कब्जामा रहेको भन्दै ती नेपालीहरूको उद्धार गर्न भनेको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’