काठमाडौं । इलामको सूर्याेदय नगरपालिकामा दिउँसो मदिरा पिउन प्रतिबन्ध गरिएको छ। १८ वर्षभन्दा मुनीका बालबालिकालाई मदिरा बेच्नसमेत निषेध गरिएको छ।
नगरको आठौं कार्यपालिका बैठकले साँझ ५ बजेअघि नगरभित्र कसैले मदिरा पिउन नपाउने मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गरेको हो।
दिनदाहाडै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिरा बेचबिखन गर्ने गरिएको, विद्यार्थीलाई मदिरा बेच्ने गरिएको र बालबालिकामा समेत मदिराको लत बढ्न थालेको पाइएको नगरले जनाएको छ।
कार्यविधिले १८ वर्षमुनिका बालबालिकालाई मदिरा बेच्च निषेध गरेको मेयर रणबहादुर राईले बताए।
मदिरा तथा सुर्तीजन्य वस्तु नियमन गर्न आउँदो नगर सभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ।