काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका सबै (७३ जना) लाई प्रहरीले रिहा गरेको छ।
रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन्।
उक्त प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ।