काठमाडौं, १७ पुस । नेपाली नागरिकलाई अवैध रुपमा रसियन आर्मीमा भर्ती गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका एक अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर भएको छ।
रसियन आर्मीमा भर्तीका लागि पठाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा सुरुमा १२ जना र पछि २ जना गरी १४ जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेका मध्ये ३ जना र १ जनालाई फरार प्रतिवादी बनाएर ४ जनाविरुद्ध ठगीको कसुरमा मुद्धा दायर गरिएको थियो। पक्राउ परेका अर्का १ जना तेह्रथुमको मेन्छायाम गाउँपालिका– ५ का ३२ वर्षीय शंकर ल्म्बिूविरुद्ध भने मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
उनीबाट सुरु भएको मानव बेचबिखनको अनुसन्धानले बृहत् रुप लिँदै विमानस्थलको अध्यागमनका शाखा अधिकृत नरवीर खड्का, मोरङको बेलबारी नगरपालिका–११ घर भएका ३२ वर्षीय रबीन घिमिरे र मोरङकै सुन्दरहरैचा नगरपालिका–११ का गोविन्द रिमालविरुद्ध मुद्धा दायर गरिएको छ। शंकरमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुको पनि संलग्नता देखिएपछि उनीहरुलाई पनि प्रतिवादी बनाइएको हो।
खड्काले यसअघि नै नक्कली डकुमेन्टको आधारमा सेटिङमा भिजिट भिसामा विभिन्न देशमा मान्छेहरु पठाउने गरेको आरोपमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। उनीविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा कीर्तेको कसुरमा मुद्धा दर्ता भएर सुनुवाइकै क्रममा रहेको छ।
योसँगै अध्यागमनका अधिकृत खड्काको संलग्नता मानव बेचबिखनमा पनि देखिएपछि अर्को मुद्धा पनि दायर भएको छ। शंकर लिम्बू र घिमिरे र रिजालसहितको सेटिङमा शाखा अधिकृत नरवीरले रसियन आर्मीमा लागि नेपालीहरुलाई पठाउने गरेको पाइएको छ।