काठमाडौं । सेवाग्राहीसँग घूस लिएको आरोपमा पक्राउ परेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सवइन्जिनियर टीकाराज राई र घर निर्माणका ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घूस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार रुपैयाँसहित मंसिर १४ मा नियन्त्रणमा लिएको थियो।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घूस/रिसवत माग गरिरहेको भन्ने उजुरीका आधारमा नियन्त्रणमा लिइएको आयोगका सह प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सव-इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।