काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष कैद र ३ लाख जरिवाना सजाय भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार सजाय तोकेको हो ।
उनबाट थप २ लाख रुपैयाँ समेत गरी कूल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
यसअघि उनी जबरजस्तीकरणी गरेको अभियोगमा दोषी ठहर भएका थिए । अदालतबाट सजाय तोकिएसँगै अब लामिछाने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले उच्च अदालत जाने तयारी भइरहेको जानकारी दिए ।