काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो।
प्रवक्ता डा बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ। बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका उनको भनाइ थियो।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो। उक्त खोप चीन सरकारबाट अनुदानमा विसं २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताए।