हाम्रो हेडलाइन संवाददाता
काठमाडौं, १५ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ६ वटै वडाहरुका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनीपुर्जा वितरण कार्य शुरु गरेको छ ।
सोमबार पहिलो दिन आँबुखैरेनी–२ मा रहेका भूमिहिन सुकुम्वासी १२ जनालाई जग्गाधनीपूर्जा वितरण गरिएको छ । कार्यक्रम आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमाको अध्यक्षता, गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सांसद हरि बहादुर चुमान, राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।
सोमबारदेखि पूर्जा वितरण कार्यक्रम शुभारम्भ भएको र अन्य वडाका सम्बन्धित व्यक्तिहरुलाई अब वितरण गर्दै जाने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष चुमाले जग्गाधनीपुर्जा वितरणमा सहयोग गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँ, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला मालपोत कार्यालय तनहुँ, नापी कार्यालय तनहुँ, नापी टोल प्रमुख लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाको भूमिहिन सुकुमवासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रहेर अहोरात्र खटिएर उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत/सेवा केन्द्र प्रमख ई.निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको छ ।