काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक(असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न भनेको छ ।
त्यस्तै छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालय फिर्ता बोलाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका थिए । गौतम नेतृत्वको समितिमा प्रहरी नायब महानिरीक्षक(डिआइजी) राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य रहेका थिए।
घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालो पट्टी बाँधेर नियमित काम गर्दै आएका थिए ।
घटना पछि कर्मचारी ट्रेड युनियनहरुले गृह मन्त्री, मुख्यसचिव र गृह सचिवलाई भेटेर प्रहरीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए भने कारबाही नभए थप आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए ।