काठमाडौं । दोर्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बुधबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ । राष्ट्रिय योजना आयोग र स्थानीय तहको ५०/५० को अनुपातमा स्थानीय तहको ५० प्रतिशत मध्ये स्थानीय पूर्वाधार(DOLI)को १० प्रतिशत र दोर्दी गाउँपालिकाको ४० प्रतिशत मा ८ करोड ४४ लाख ४६ हजार ३ सय ६३ रुपैयाँ ८० पैसाको इस्टिमेट गरेर ठेक्का प्रक्रिया अघि बढाएको छ ।
प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर देवकोटा–गणपति जेभीले २०८० माघ ०१ गते भ्याटसहित ६ करोड ६० लाख ६४ हजार १ सय ५४ रुपैयाँ ९९ पैसामा सम्झौता गरेको छ । यसमा राष्ट्रिय योजना आयोगले ५० प्रतिशत,स्थानीय पूर्वाधार(DOLI)ले १० प्रतिशत र स्थानीय सरकारले ४० प्रतिशत लगानी गर्नेछ । निर्माण व्यवसायीले प्रशासकीय भवनको निर्माणकार्य २०८२ जेठ २५ गते भित्र सक्ने गरी सम्झौता गरेको छ।
प्रशासकीय भवन अपांग मैत्री लिफ्ट सहितको ३ तल्ला रहने छ। भवनमा कूल २५ वटा कोठा रहने छन जसमा अध्यक्ष र उपाध्यक्षको अलग–अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष लगायत रहनेछन् । प्रशासकीय भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिइएको छ।