काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो । एमालेका केन्द्रीय सचिव डा. भिष्म अधिकारीले उनको ट्रमा सेन्टरमा चेकजाँच गर्दा सामान्य चोटपटक मात्र देखिएको बताएका छन् ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आज सामाजिक सन्जालमा जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ लेखेका छन् । फोटो हेर्दा बाटो किनारमा जिप पल्टिएको देखिन्छ ।
जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए ।