काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। आइतवार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन्।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आजको बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री यादवले आजको मधेश प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत परेको घोषणा गरे।
प्रदेशसभामा १०७ जना सदस्य रहेकोमा आजको बैठकमा १०४ जना उपस्थित रहेका थिए। मुख्यमन्त्री यादवले पाएको मत उपस्थित सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा सभामुख मण्डलले गरे।
मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाल, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरे।
मुख्यमन्त्री यादवको विपक्षमा नेकपा एमाले र जनमत पार्टीले मतदान गरे। मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिएका हुन्।
सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।