काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा ९ महिनादेखि ५ बर्ष मुनीका १ हजार २९ जना बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । दोर्दी गाउँपालिका स्वास्थ्य शाखाले मंगलबार नौथर शेरामा आयोजना गरेको दादुरा रुबेला खोप अभियानको सन्दर्भमा आयोजित स्थानीय खोप समन्वय समिति तथा सञ्चारकर्मीको अभिमूखिकरण कार्यक्रमको आयोजना गरी गाउँपालिकामा हुने खोप अभियानबारे जानकारी गराएको हो ।
कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा संयोजक आइतमान गुरुङले फागुन १३ गतेदेखि १७ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने जानकारी दिए ।
उनले गाउँपालिकाको ९ वटै वडामा यसअघि कायम भएको ३१ र गाउँपालिकाले थप कायम गरेको ९ गरी ४० वटा खोप केन्द्रमार्फत तोकिएको उमेर समूहका बालबालिकालाई खोप लगाइने छ ।
अभियानको क्रममा दोर्दी गाउँपालिकामा ३१ जना खोप कार्यकर्ता र ८५ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । खोप अभियानको स्वास्थ्य चौकी प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा साथै जनप्रतिनिधिले अनुगमन गरिने भएको छ ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दादुरा रुबेलाविरुद्धको खोप अभियान राज्यको अभियान भएकाले यसलाई सफल बनाउन सवै राजनीतिक दल, सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारी, आमा समूह, युवा समूह, शिक्षक, अभिभावक लगायतलाई आग्रह गरे । दादुरा रुबेलाका कारण बालबालिकाको अकालमै ज्यान समेत जान सक्ने भन्दै यस कार्यमा सक्रियताका साथ अभियान सफल बनाउन उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
कुनैपनि बालबालिका खोप पाउने अधिकारबाट बञ्चित हुन नहुने भन्दै भोलिका दिनमा बालबालिकामा आउनसक्ने समस्या आउन नदिन आज नै नियमित खोप अभियानमा सबैको सहयोग आवश्यक रहेको उनले बताए । उनले कमिकमजोरीरहित तवरबाट आफ्नो कर्तव्य पालना गर्न स्वास्थ्यकर्मीलगायत सवै कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेसहित कर्मचारी, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखाका कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन दोर्दी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुजन सुनारले गरेका थिए ।