राकेश प्रजापति
लमजुङ । लमजुङ बेसिशहर नगरपालिका ११ चिति रामचोक बेसिका ५ वर्षीय बालक युवराज वि.कलाई आर्थिक सहयोग गरिएको छ ।
एम. आर. एड्भरटाईिजङ्ग एजेन्सीका प्रबन्ध निर्देशक एवम् कन्यादेवी युवा क्लवका सचिव राजेन्द्र प्रजापतिले शनिबार बालकको घरमै पुगेर ५८ हजार ७ सय ७० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
२०७८ सालमा लडेर खुट्टा भाँचिएका बालकको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । उक्त समाचार हाम्रो हेडलाइन डटकमले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएसँगै विभिन्न व्यक्तिहरुले उक्त रकम सहयोग गरेका हुन् ।
सहयोग हस्तान्तरणमा बेसीशहर नगरपालिका ११ का वडा सदस्य विजय राज सेढाई, कन्यादेवी युवा क्लबका अध्यक्ष पारस कुमार श्रेष्ठ, समाजसेवी राजेश श्रेष्ठ, अर्जुन राज सेढाई, ऋषिराज सेढाई र नबिन परियार लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यसैबीच युवराजको उपचार निःशुल्क हुने भएको छ । उनको अवस्थाको बारेमा बुझेपछि राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क उपचार गर्ने बताएको हो । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बन्द्री रिजालले बच्चाको निःशुल्क उपचार गर्ने आश्वासन दिएका एम. आर. एड्भरटाईिजङ्ग एजेन्सीका प्रबन्ध निर्देशक प्रजापतिले जानकारी दिए ।
हाम्रो हेडलाइनमा समाचार प्रकाशित भएसँगै बालकका बुबा हरि पनि सम्पर्कमा आएका छन् । युवराजको हजुर बुबा साइला वि.क र हजुर आमा मिठूले पालन पोषण गर्दै आएका छन् । तर वृद्ध हजुरबुबा हजुरआमाले उपचार खर्च जुटाउन नसक्दा उनको उपचार हुन सकेको छैन ।
दुई वर्ष अघि लडेर उनको खुट्टा भाँचिएको हजुरआमा मिठुले बताइन् । उनीहरुले सहयोगी दाताहरुलाई धन्यवाद दिँदै बच्चाको उपचार हुने भएपछि खुसी व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
उपचारका लागि सहयोगको खोजीमा लमजुङ चितिका ५ वर्षीय बालक युवराज(भिडियोसहित)