काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।यो अभियान चैत ७ गतेसम्म जारी रहनेछ ।
सो अभियानअन्तर्गत काठमाडौं जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।
विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुदैँछन ।
काठमाडौंका १० स्थानीय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भएपनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।
दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ ।