काठमाडौं । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेसिशहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।
तनहुँ डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इञ्जिनियर किरण पोखरेलले बताए ।
हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ। सो सडकमा च्याम्बास बजारमा रहेको घरनिर र डुम्रे बजारको पुल नजिकैको भागमा नाली बनाउने काम भइरहेको उनको भनाइ छ।
केही समय कालोपत्रको लागि सामग्री अभाव भएर रोकिए पनि केही दिनअघिदेखि कालोपत्रको काम सुरु भइरहेको र तीव्र रुपमा अघि बढ्ने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कालोपत्र गर्न बाँकी रहेको अधिकांश भागमा पनि तह मिलाउने कार्य सम्पन्न भएको छ। तनहुँको डुम्रे बजारबाट लमजुङतर्फ निर्माणाधीन यस सडक राजमार्गको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ। त्यस्तै, १०/१० मिटरको लगतकट्टा भइसकेको छ।
अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बनिरहेको उक्त कार्यालयले जनाएको छ। यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे ९भारवाहन सडक० रहेकोमा सात मिटरको हुनेछ।
त्यस्तै, दायाँबायाँ एकएक मिटरको ‘सोल्जर’ तथा एकएक मिटरको नाली निर्माण भएको छ। उक्त कार्यालयका अनुसार यस सडकको सो काम २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले विसं २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन सकेन। पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने इञ्जीनीयर पोखरेलले बताए।