काठमाडौं । सल्यानमा पछिल्लो समय आत्महत्याका घटना बढ्न थालेको छ । चालु आवमै २९ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
आत्महत्या गर्नेमा १२ जना पुरुष र महिला ९ जना, बालक २ जना र बालिका ६ जना रहेका छन् । जिल्लामा भएका आत्महत्याका घटना मध्ये ७५ प्रतिशत झुण्डिएर र २५ प्रतिशत विष सेवन गरेर हुने गरेको प्रहरीले जनाएको छ । तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९/०८० मा ४५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ५३ जना र आर्थिक वर्ष २०७७/०७८ मा ७१ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जिल्लामा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको बताए । उनका अनुसार त्रिवर्षीय तथ्यांक हेर्दा जिल्लामा १ सय २७ जना आत्महत्या प्रयासबाट बाँच्न सफल भएका छन् ।
यसैबीच आत्महत्या बढ्न थालेपछि जिल्लामा रोकथाम सम्बन्धी सचेतनामूलक विशेष अभियान शुरु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले अभियानको एक समारोहकाबीच उद्घाटन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना र शारदा नगरपालिकाको सहकार्यमा अभियानको थालनी गरिएको हो ।
अभियानको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले समाजमा अझैँ पनि आत्महत्या रोकथाम सम्भव छ र भन्ने गरिएकोमा यो भ्रमलाई चिर्ण सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले आत्महत्या समाजमा विकराल बन्दै गएकाले सबैटोल र बस्तीसम्म सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । यस्तै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या भएकाले विभिन्न निकायको सहयोग र साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले आत्महत्यालाई रोकथाम गर्न प्रहरी सँगै विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर काम गर्न तयार रहेको बताए । छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मानसिक स्वास्थ्यका क्षेत्रमा पालिकाले लगानी गरेको र सचेतनाका कार्यक्रम सञ्चालन गर्दा आत्महत्यामा कमी आउनसक्ने बताए ।
मानसिक स्वास्थ्य स्वावलम्बन समूह सल्यानकी अध्यक्ष सुशिला हमालले व्यक्ति, परिवार र समाज सबैको साथ र सहयोग पाएमात्रै आत्महत्याको प्रयासबाट बाँचेकाहरुलाई जीवननिर्वाह गर्न सहज हुने बताइन् । सो अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानले तयार पारेको आत्महत्या सम्बन्धी डकुमेन्ट्री सार्वजनिक गरिएको थियो ।