काठमाडौं । सभामुख देवराज घिमिरेले आन्दोलन गरेर मात्र सरकारसँग सुनुवाई हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका (खोटाङ) का नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै सभामुख घिमिरेले सबै विषय सडकमा लगेर आन्दोलन गरेपछि मात्र सुनुवाई हुने संस्कार अन्त्य गर्नुपर्ने बताए।
“प्रत्येक कुरा सडकमा गएर, आन्दोलन गरेर बाध्यकारी परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाई हुने अवस्थाको अन्त्य गर्नुपर्छ,” उनले भने, “यदि माग अव्यवहारिक, असान्दर्भिक वा अनुचित छन् भने, स्पष्ट रूपमा असम्भव भन्न सक्नुपर्छ।”
सभामुख घिमिरेले संविधानले दिएको अधिकार प्रयोग गर्दै न्यायोचित विषयमा आवाज उठाउने ठाउँ सडक नभई संवाद र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिए। यद्यपि, प्रयास गर्दा पनि सुनुवाई नभए सडकमा जानु असंवैधानिक नहुने उनको भनाइ थियो।
उनले बाँसजस्ता बहुउपयोगी वनस्पतिहरूको प्रवर्द्धनका लागि संसद् आवश्यक कानून निर्माणमा सधैं तत्पर रहने पनि बताए। “यदि संसद्मा कुनै ऐन वा विधेयक अड्किएको छ भने, त्यसलाई पारित गरेर कार्यान्वयनमा ल्याउन सकिन्छ,” सभामुख घिमिरेले स्पष्ट गरे।
उनले बाँस विभिन्न क्षेत्रमा प्रयोग गर्न मिल्ने बहुमूल्य स्रोत भएको भन्दै यसको उत्पादन र उपयोग प्रवर्द्धन गर्न नीति, कानुन र कार्यक्रम आवश्यक रहेको बताए।