काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको बालमन्दिर माध्यमिक विद्यालयकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा मुद्दा दायर गरेको छ।
अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। प्रवक्ता घिमिरेका अनुसार शिक्षिका पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको उजुरी आयोगमा परेको थियो।
पौडेलले भारतको वाणारसीबाट हाइस्कुल तह उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा काम गरिरहेकी थिइन्। तर उक्त प्रमाणपत्र नक्कली भएको पाइएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम नक्कली प्रमाणपत्र पेश गरी अवैध लाभ उठाएको कसुरमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले बताए।
प्रेस विज्ञप्ति:- मिति २०८०।११।२९ गते।
——————————————
श्री बालमन्दिर माध्यमिक विद्यालय, व्यास नगरपालिका, तनहुँमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरु छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज शिक्षक सुनिता उपाध्याय पौडेलले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज सुनिता उपाध्याय पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे