काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वैदेशिक रोजगार विभागमा कार्यरत (नासु) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही निवेदनका आधारमा टंगालबाट टोली खटिएको थियो।
उक्त टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको र कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय ३० रूपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौला घुस रकम सहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८०।११।२९ गते।
—————————————————-
बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापाल प्रमोद निरौलालाई सेवाग्राहीबाट रु.१५,०००।–(पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.७१,६२०।- (एकहत्तर हजार छ सय बीस रुपैयाँ) सहित निजको कार्यकक्षबाट आज मिति २०८०।११।२९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
नरहरि घिमिरे