काठमाडौं । लमजुङ मध्यनेपाल नगरपालिका-१, जिताले मादक पदार्थ सेवन तथा बिक्री वितरण सम्बन्धमा निश्चित समय तोकेको छ। वडा समितिबाट निर्णय गरी यस वडाका सरकारी कार्यालय तथा संघसंस्थाबाट तीन सय मिटरको क्षेत्रभित्र मादक पदार्थ बिक्री वितरण तथा सेवनका लागि निश्चित समय तोकिएको हो।
वडा अध्यक्ष सुदिप थापाको हस्ताक्षरमा जारी गरिएको सूचनाअनुसार यही चैत ५ गतेदेखि नयाँ नियम लागू हुनेछ।
जसअनुसार चैत ५ गतेदखि कात्तिक मसान्तसम्म बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म र मंसिर १ गतेदेखि चैत ४ गतेसम्म बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कुनै पनि प्रकारको मादक पदार्थ सेवन तथा बिक्री वितरण गर्न पाइने छैन।
यो समयावधिपछि पनि अनुमति प्राप्त गरेका व्यापारीले बेलुका दुई घण्टा मात्र मादक पदार्थ बिक्री वितरण गर्न पाउनेछन्।
जसअन्तर्गत चैत ५ गतेदेखि कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म र मंसिर १ गतेदेखि चैत ४ गतेसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइनेछ।
यो नियमको बेवास्ता गरी गतिविधि गरेको खण्डमा वडा कार्यालयबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित गराइने तथा मदिरा नियन्त्रण गरिनुका साथै र घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने सामग्री समेत बरामद गरिने वडा कार्यालयको सूचनामा जनाइएको छ।