काठमाडौं । इलामको रोङ गाउँपालिकाले तीतेपाती खेतीलाई थप विस्तार गर्ने जनाएको छ ।
किसानलाई बाँदर, बँदेल लगायतका वन्यजन्तुले दुःख दिइरहेको बेला गाउँपालिकाले अन्य खेतीको विकल्पका रूपमा व्यावसायिक पाती खेती गर्न लागेको हो ।
पालिकाले बनमार्फत समृद्धि कार्यक्रम अन्तरगत पाती खेती शुरु गर्न लागेको जनाएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबोले पदभार ग्रहण गर्दा पहिलो निर्णय ‘बन मार्फत समृद्धि कार्यक्रम’ घोषणा गरेका थिए ।
उक्त घोषणा अनुसार नै पालिकाका किसानलाई थप व्यावसायिक बनाउनका लागि पाती खेती शुरु गर्न लागिएको अध्यक्ष स्याङबोले बताए ।
गाउँपालिकाले ६ लाख पातीका बिरुवा खरिद गरेर ल्याएर पालिका भित्रका किसानलाई निःशुल्क वितरण गर्ने तयारी गरेको छ । पालिकाले मागका आधारमा किसानलाई पातीको बिरुवा उपलब्ध गराउने अध्यक्ष स्याङबोले बताए ।
उनले तीतेपाती खेतीले गाउँमा रोजगार सृजना गर्ने, ग्रामीण अर्थतन्त्र चलायमान बनाउने बताए । तीतेपाती खेतीलाई बाँदर, दुम्सी, खरायो जस्ता जनावरले नखाने भएकाले धेरै किसानलाई फाइदा पुग्ने गाउँपालिकाले जनाएको छ ।