काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएको प्रति विज्ञहरूले सो सुझाव दिएका हुन् ।
इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरूले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वाेच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए ।