काठमाडौं । नेपाल पत्रकार महासंघले धनुषाका क्रियाशील पत्रकार विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा परी ३० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले स्तब्ध भएको जनाएके छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा वैशाख ११ गते मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।
ढल्केवरबाट धनुषानगरपालिका–५ स्थित घर फर्कने क्रममा पत्रकार यादव आफैंले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका–६ को ढल्केवरमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किदा यो दुःखद् घटना भएको हो ।
विगत ७ वर्षदेखि धनुषामा रहेर पत्रकारितामा सक्रिय पत्रकार यादव पछिल्लो समय इन्यूजव्यूरो डटकमका कार्यकारी सम्पादकका रुपमा कार्यरत थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।
महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ स्वर्गीय यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।