काठमाडौं । काठमाडौं मालिगाउँबाट ९८ लाख रुपैयाँसहित पक्राउ परेका व्यक्ति साढे ११ किलो सुन तस्करी र संगठित अपराधमा फरार व्यक्ति रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रूपन्देही सियारी गाउँपालिका–७ का समिर सुनार र मिलन विकलाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गर्र्दै आएको बा १३ च ४८५८ नम्बरको गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले पक्राउ परेकामध्ये मिलन २०८० असोज १० गते दोलखामा बरामद भएको साढे ११ किलो सुन प्रकरणमा मुछिएका अभियुक्त रहेको बताए ।
अनुसन्धान कार्यालयका अनुसार मिलनविरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलेर अनुसन्धान भइरहेको छ । प्रहरीले मिलनबाट डायरी र मोबाइल बरामद गरेको छ ।