काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको अगुवाइमा काठमाडौंमा महासंघको चुनाव लक्षित भेला सम्पन्न भएको छ ।
भेलामा मञ्चका अध्यक्ष युवराज बिद्रोहीसहित मञ्चका कार्यसमिति पदाधिकारी, उपलब्ध सदस्यहरु, आध्यात्मिक पत्रकार समाज लगायत अन्य केही पत्रकारसँग सम्बन्धित संगठनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
भेलामा मञ्चका अध्यक्ष बिद्रोहीले चुनावी रणनीतिबारे जानकारी गराउँदै महासंघलाई विशुद्ध पत्रकारहरुको छाता संस्थाको रुपमा विकास गर्न आफूहरुको सक्रिय भूमिका रहनुपर्ने बताए ।
आध्यात्मिक पत्रकार समाज (आपस ) का अध्यक्ष शिरोमणि दवाडीले आपसलाई नेपाल पत्रकार महासंघको एशोसिएट्स प्रदेश समितिबाट महासंघमा आवद्धताका लागि सिफारिस भैसकेको भएपनि महासंघबाट आवद्धता नदिइएकोमा गुनासो राखे ।
विधागत पत्रकारितामा आधारित आपसको आवद्धतालाई अब बन्ने कार्यसमितिले नरोक्न र अविलम्ब यसमा ध्यानाकर्षण गर्न आग्रह पनि गरे ।