काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसबाट २०६४ सालको संविधानसभामा प्रत्यक्ष निर्वाचित र २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका पूर्वश्रम तथा रोजगार र स्थानीय विकासमन्त्री सूर्यमान गुरुङको निधनमा शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
गुरुङको ८२ वर्षको उमेरमा २०८१ वैशाख २५ मा उपचारको क्रममा निधन भएको थियो । त्यस्तै नेपाली कांग्रेसबाट संविधानसभा सदस्य रहेका शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । शाहको ८५ वर्षको उमेरमा २०८१ वैशाख २५ मा उपचारको क्रममा निधन भएको थियो ।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । रेग्मीको ७५ वर्षको उमेरमा २०८१ जेठ १ मा निधन भएको थियो ।
त्यस्तै सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहनेछ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।